घर दैलो अभियानमा उम्मेदवार

0
Shares

काभ्रे  ।

बैशाख ३० गते हुने मतदानका लागि विभिन्न दल तथा उम्मेदवारहरुले जिल्लाका १३ वटै स्थानीय तहमा दिएको उम्मेदवारीका बारेमा छानविन शुरु भएको छ । उम्मेदवार उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकशन गर्ने तयारीमा जुटिरहेको निर्वाचन आयोगले निर्वाचनका लागि अन्य तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

कर्मचारी छनौट, तालिम, सामाग्री ब्यवस्थापनको कार्यको धमाधम भईरहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो । उम्मेदवारहरु भने घरदैलो अभियानमा सक्रिय भएका छन् ।‘उम्मेदवारी दर्ता सँगै उम्मेदवारहरुका बारेमा जाँजबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तालिका अनुसार भईरहेको छ’–मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले भन्नुभयो–‘दल र उम्मेदवारलाई निर्वाचन आचार संहिता पालना गर्न अनुरोध गरेका छौं ।’

१३ वटै पालिकाका निर्वाचन अधिकृतहरुले उम्मेदवारी दर्ता लगायतका कार्यक्रमहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ र १२ गते दर्ता भएको उम्मेदवारी विरुद्ध १३ गते उजुरी दिने तालिका थियो । केहि पालिकाका केहि उम्मेदवार बाहेक अन्यत्र उजुरी परेन ।

 

बुधबार र विहिबार उजुरी उपर जाँचबुझ गर्ने समयावधी छ । बैशाख १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गे शुक्रबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एमालेले खोल्यो खाता
एमालेका तीन प्रतिनिधि सर्वसम्वत चुनिएका छन् । धुलिखेल ६ मा पार्वति विक, खानिखोला १ मा मसली विक र खानिखोला २ मा भगवति विक निर्विरोध भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले बनेपा ८ मा पहिलो पटक एक्लै खाता खोलेको थियो । उक्त वडामा अहिले काँग्रेसबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

घरदैलो अभियानमा उम्मेदवार

उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा २ सय ४१, धुलिखेल नगरपालिकामा २ सय ३७, नमोबुद्ध नगरपालिकामा २ सय २८ र मण्डनदेउपुर नगरपालिकामा २ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा १ सय ९३, चौरीदेराली गाउँपालिकामा १ सय ९३, महाभारत गाउँपालिकामा १ सय २६, खानीखोला गाउँपालिकामा १ सय ११, रोशी गाउँपालिकामा २ सय ३५, तेमाल गाउँपालिकामा २ सय ४ र बेथानचोक गाउँपालिकामा १ सय ४५ जना गरि कुल २ हजार ७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेले जिल्लाका १३ वटै पालिकामा घर दैलो अभियान स्थानीय कमिटीहरुले तय गरेर शुरु गरेको बताएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु दोश्रो पटक धुलिखेल नगरपालिकामा प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । उहाँ नेपाल नगरपालिका संघको अध्यक्ष र अन्र्तराष्ट्रिय संघमा पनि अध्यक्ष हुनुहुन्छ । सबै उम्मेदवार घर दैलोमा सहभागि हुनु भएको उप सचिव राजकुमार सापकोटाले जानकारी दिनु भयो । नेपालमै नमुना नगरपालिकाका रुपमा चिनिएको धुलिखेललाई अझै अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै समृद्ध धुलिखेलका लागि अध्यक्ष ब्याञ्जुलाई पुनः उम्मेदवारी दिने पार्टीले निर्णय गरेको पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले बताउनु भयो ।

पाँच वर्षको अवधीमा शुन्य कार्बन उत्सर्जनको क्षेत्रमा धुलिखेलले विश्वका १५ शहरमा पार्न सफल भएको छ भने गुणस्तरीय खानेपानी, पार्कहरुको शहर, गरिवी न्यूनिकरण भएको शहर, बालमैत्री शहर, स्नातक सम्मको शिक्षा निशुल्क भएको शहरका रुपमा समेत स्थापित गरेको छ । दिगो विकासका लागि पुरा गर्नु पर्ने लक्ष्यहरु मध्ये ४ वटा लक्ष्य धुलिखेलले पुरा गरिसकेको छ भने स्वस्थ शहरको अभियान नेपालमै पहिलो पटक शुरु गरेको छ । ‘महत्वपूर्ण योजनाका साथ धुलिखेलको समृद्धतालाई अझै अन्तराष्ट्रियकरण गरी नागरिकहरुको आय आर्जन बृद्धी गर्न थप पहल हुनेछ’–नगर प्रमुख उम्मेदवार अशोक ब्याञ्जुले भन्नुभयो–‘हिजाको केहि क्रमागत योजनाहरुको निरन्तरता र थप नयाँ योजनाहरुले धुलिखेलको समृद्धतालाई अगाडी बढाउने छौं ।’

धुलिखेलमा उपप्रमुख युवा नेता कानुन ब्यवसायी लालतारा अधिकारीले प्राप्त गर्नु भएको छ । पनौतीमा भिम न्यौपाने र गिता बञ्जारा पुरानै पदमा दोहोरिनु भएको छ । उहाँहरुलाई पार्टीले क्रमश प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बनेपामा युवा नेता रत्नकुश रञ्जित र कानुन ब्यवसायी सामाजिक ब्यक्तित्व विमला सापकोटालाई टिकट दिने निर्णय गरेको छ । यस अघि प्रमुख र उपप्रमुख हुनु भएका लक्ष्मीनरसिं बादे र रेखा सापकोटा दाहालले पुनः उम्मेदवार हुने इच्छा राख्नु भएन ।

पाँचखालमा युवा नेताहरु कञ्चन अधिकारी र सुर्यमाया दनुवारलाई टिकट दिएको छ । दनुवार पत्रकारितामा कृयाशिल हुनुका साथै र सामाजिक अभियान्ता हुन् । पाँचखालमा यस अघि एमालेले झिनो मतले पराजय ब्यहोरेको थियो । मण्डन देउपुर नगरपालिकामा विदुर प्रसाद सापकोटा र सरिता ढकाललाई टिकट दिएको छ ।

सापकोटा यस अघि २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जैसिथोक गाविसका अध्यक्ष हुन् । ढकाल देउपुर क्षेत्रमा राम्रो पकड भएकी नेता हुन् । मण्डन देउपुर नगरपालिकामा एमालेले विजयी हासिल गरेको थियो । नमोबुद्ध नगरपालिकामा एमाले जिल्ला सचिव राजन भुर्तेल प्रमुख र विद्यार्थी नेता सम्झना तामाङले उपप्रमुखको टिकट पाएका छन् ।

बेथान्चोक गाउँपालिकामा कानुन ब्यवसायी एवं २०५४ सालमा गाविस अध्यक्ष पदका उम्मेदवार कमल तिमल्सिना र सरला लामिछानेलाई अध्यक्ष र उपाध्यक्ष पदको टिकट दिएको छ । रोशी गाउँपालिकामा कानुन ब्यवसायी एवं युवा नेता देवसागर लामा र यस अघि उपाध्यक्ष पदमा उम्मेदवार भई झिनो मतले पराजय ब्यहोरेकी सामाजिक ब्यक्तित्व बबिता बोहोरालाई टिकट दिएको छ । तेमालमा यस अघि पार्टीका जिल्ला सचिव भएका इन्द्र तामाङ र सम्तेन लामालाई टिकट दिएको छ ।

भुम्लुमा जिल्ला समन्वय समितिका प्रवक्ता समेत रहेका ब्यवसायी युवा नेता प्रेम लामा र कल्पना श्रेष्ठलाई टिकट दिएको छ । चौरीदेउराली गाउँपालिकामा सामाजिक सस्थाका अन्र्तराष्ट्रिय स्तरका नेता जितराम लामा र बबिता खरेललाई टिकट दिएको छ । खानिखोला गाउँपालिकामा शेखर लामा र रुकमणी गुरुङ्गलाई टिकट दिएको छ । गुरुङ्ग यस अघि गाउँपालिकाको उपाध्यक्ष हुन् । महाभारत गाउँपालिकामा पूर्णबहादुर वाईवा र शान्ति तितुङ्ग मगरलाई टिकट दिएको छ । दुबै जना पुर्व माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् । एमाले उप सचिव राजकुमार सापकोटाले युवा, महिला र समावेशी रुपमा उम्मेदवार छनौट गरेको एकताबद्ध भएको बताउनु भयो ।

गठवन्धनमा महिला आउट

नेपाली काँग्रेसले १३ वटा मध्ये ७ वटा पालिकामा प्रमुख र ६ वटा पालिकामा दोश्रो तहको नेतृत्व पाएको छ । बनेपा, पनौती, पाँचखाल र नमोबुद्धको प्रमुख काँग्रेसले पाएको छ भने धुलिखेल र मण्डन देउपुर नगरपालिकामा समाजबादीले पाएको छ । माओवादीले नगरपालिकामा अवसर पाएन । त्यस्तै काँग्रेसले बेथान्चोक, रोशी र तेमालमा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ भने माओवादीले भुम्लु, महाभारत, चौरीदेउराली र खानिखोलाका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यस अघि काँग्रेसले ४ वटा, माओवादीले दुईवटा र एमालेले ७ वटा पालिकामा विजय हासिल गरेको थियो । जिल्लामा रहेको समाजबादीले कुनै गाउँ पालिकामा प्रमुख पदको उम्मेदवार बन्ने अवसर प्राप्त गरेन ।

नेपाली काँग्रेसले उठाउँदै आएको समावेशी नारा पानीको फोका जस्तै भएको छ । १३ सिटमा काँग्रेसले कोहि महिला उम्मेदवार पाउन सकेन । लोकतन्त्र र समावेशीको नारा घन्काउने नेपाली काँग्रेस र नेकपा समाजबादीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा महिलाहरुलाई उम्मेदवारी दर्ता गर्न दिएन । माओवादीले भने चौरीमा अध्यक्ष रुकु चौलागाई र बेथान्चोकमा तारा तिमल्सिनालाई उम्मेदवार बनाए पनि बेथान्चोकमा अध्यक्ष र उपाध्यक्ष पदमा सिफारिस एउटै ब्यक्तिलाई गरिएको भन्दै बागि उम्मेदवारी दर्ता गरिएको छ । कतिसम्म भने नेपाली काँग्रेस र नेकपा समाजबादीले बनेपामा दुबै उम्मेदवार पुरुष बनाए ।

त्यो पनि त्यो पनि एउटै वडाबाट प्रमुख र उपप्रमुख । बनेपा ७ बाट एउटै समुदायबाट उम्मेदवार बनाए पछि बजार बाहिरका काँग्रेस र समाजवादीका साथै अन्य समुदायको प्रतिनिधित्व गर्ने कार्यकर्ताहरु रुस्ट भएका छन् । टिकटकै लागि समाजबादीका नेताहरु बीच सडकमै कुटाकुट भएको थियो । पनौतीमा समाजबादीका नेता मिरा पौडेललाई उपप्रमुख पदमा उम्मेदवारी दिने सहमति गरे पनि अन्तिममा पुरुष छविलाल हुमागाईलाई टिकट दिएर काँग्रेस नेता शिव हुमागाईले खेलेको आरोप लागेको छ । समाजबादी र काँग्रेस दुबै पनौतीमा हुमागाईले चलाईरहेको नेताहरुले बताएका छन् । एमाले उम्मेदवार भिम न्यौपाने बलियो भएका कारण माओवादी समेतलाई साथमा लिएर काँग्रेस नेता हुमागाईले अन्तिम धक्का दिने प्रयास गरेका छन् । संगठन बलियो भएको एमालेका लागि उनले सोचेजस्तो सजिलो नभएकाले एमाले कार्यकर्ताहरु ढुक्क छन् ।