सुरक्षा निकायका प्रमुखहरू छलफलमा व्यस्त


काठमाडौं  । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा निकायका पदाधिकारीबीच आइतबार जंगी अड्डामा छलफल भएको छ ।

छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलका साथै नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीहरू तथा अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी पवनराज घिमिरेले स्थानीय तह निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कामका बारेमा जानकारी दिँदै सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

छलफलमा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका विषयमा पनि गहन विचार विमर्श भएको थियो ।