पीएसजी १०औं पटक विजेता



लन्डन, (एजेन्सी) ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको विजेता बनेको छ ।लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजी च्याम्पियन बन्न सफल भएको हो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ६८औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।

त्यसअघि, ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीमा रोकिए पनि पीएसजीलाई उपाधि जित्न एक अंक पर्याप्त बन्यो । यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ । पीएसजीको यो १०औं लिग उपाधि हो । च्याम्पियन बनेसँगै पीएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्