बायर्नलाई लगातार १०औँ सिजनको लिग उपाधि


लन्डन, (एजेन्सी)  । 

जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।
शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकि छँदै च्याम्पियन बनेकोे हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो ।

एलियान्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे । डर्टमुन्डका इम्री क्यानले एक गोल फर्काएका थिए । खेलको १५औं मिनेटमा जिनाब्रीको गोलबाट बायर्नले शुरुवाती अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए । २९औं मिनेटमा जिनाब्रीले गोल गरे पनि अफसाइड घोषित हुँदा त्यो गोलले मान्यता पाएको थिएन ।

३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा डर्टमुन्डका क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा खुम्च्याएका थिए । दोस्रो हाफमा ८३औं मिनेटमा जमल मुसियालाले मार्सेल सबित्जरको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यो जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको समान खेलबाटै ६३ अंक छ । जुन १२ अंकको अन्तर हो । बायर्न र मुख्य प्रशिक्षक जुलियन नागेल्समानको यो सिजनको दोस्रो उपाधि हो । यसअघि, बायर्न र नागेल्समानले जर्मन सुपर कपको उपाधि हात पारेको थियो । प्रशिक्षक नागेल्समान सिजनको शुरुवातसँगै बायर्नमा आबद्ध भएका थिए ।

यो नतिजासँगै बायर्नले जर्मन क्लासिकेरमा डर्टमुन्डलाई लगातार आठौं खेलसम्म हराउन सफल भएको छ । सन् २०१९ को सुपर कपमा २–० ले पराजित भएयता बायर्नले डर्टमुन्डसँग हार बेहोरेको छैन । सन् २०१२–१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा एक वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्योभन्दा अघिल्लो दुई सिजन बायर्नको आधिपत्य तोड्दै डर्टमुन्ड लगातार दुई सिजन च्याम्पियन बनेको थियो ।