काठमाडौं ।
नेकपा एमालेले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने निर्णयप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाइ हुने भनी केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै एमालेले भनेको छ– ‘केही दिनअघि गठबन्धन दलका केही शीर्ष नेताको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ । यो समाचार यदि सही हो भने अन्य पालिकाको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ ।’
एमालेले आयोगलाई बुझाएको ध्यानाकर्षण–पत्रमा निर्वाचन शुरू भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न नहुने र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरू आयोगबाट हुनेछैन भन्ने कुरामा एमाले विश्वस्त रहेको पनि उल्लेख छ । ध्यानाकर्षणपत्रमा भनिएको छ– ‘प्रकाशित समाचारहरूले आम जनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौं ।
स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोहीबमोजिम नै व्यवस्था मिलाउन हुन अनुरोध समेत गर्दछौैं ।’आयोगले ६ वटा महानगरपालिकासहित १० वटा स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको हो ।
आयोगले काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिका र भक्तपुरका चारवटा नगरपालिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया