पाँच प्रतिबद्धतासहित महानगरको मेयरमा भिड्दै स्थापित

0
Shares

काठमाडौं । 

२०५४ सालमा एमालेको तर्फबाट स्थानीय निर्वाचनमा विजयी हासिल गरेर वाहवाही कमाएका केशव स्थापित झन्डै २४ वर्षपछि फेरि काठमाडौं महानगरपालिकाका मेयरको उम्मेदवार हुने अवसर पाउनुभएको छ ।

हालका मेयर विद्यासुन्दर शाक्यलाई पछि पारेर बाजी जित्न सफल स्थापितले मेयरको उम्मेदवार मनोनय गर्नु अघि ५ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल समाचारपत्रसँग कुराकानी गर्ने क्रममा उहाँले यी प्रतिबद्धता एक वर्षभित्र पूरा गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘मैले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्नेछु ।’ नेकपा एमालेको अस्ति शनिबार बसेको सचिवालयको बैठकले स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने निर्णय गरेको थियो ।

मेयर भएपछि मेरा पहिलो हस्ताक्षर त्रिचन्द्र कलेजलाई पुनर्जीवन दिने विषयको निर्णयमा हुनेछ । ध्वंस र जीर्ण भइसकेको त्रिचन्द्र कलेजलाई पुनर्जीवन दिने विषयमा मैले योजना बनाइसकेको छु । ब्रिटिस आर्किटेक्चर डिजाइनमा तयार भएको कलेज भवनलाई पुनः उद्धार गर्ने छु । शुरू शैक्षिक सत्रदेखिका विद्यार्थी बोलाएर बैठक राख्नेछु । उहाँहरूलाई सम्मान गर्नेछु । बुद्धिजीवीकै बैठकको निर्णयअनुसार कलेजको स्वरूप परिवर्तन गर्ने विषयमा छलफल गर्नेछु ।

रानीपोखरीको सौन्दर्यमा कुनै असर नपर्ने गरी कलेज परिसरमा कम्तीमा १० तले भवन बनाउनेछु । भव्य भवनमा पठनपाठन शुरू गर्नेछु । उहाँले अर्बौं रुपियाँ खर्च भए पनि त्रिचन्द्र कलेजको सौन्दर्यता कायम गर्ने विषयमा पूरै ध्यान दिने बताउनुभयो ।उहाँको दोस्रो प्रतिबद्धताअनुसार राजधानीको महानगरपालिकालाई सरकारले दिने अनुदान बढाउने हो । काठमाडौं महानगरलाई मात्रै होइन उपत्यकाभित्रका सबै स्थानीय तहको बजेट वृद्धि गर्न सरकारलाई दबाब दिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘नेपालकै जेठो र ठूलो महानगरपालिका त्यसमा पनि सरकारले थोरै अनुदान दिन मिल्छ । हामीले ४ अर्ब होइन ४० अर्ब माग्न लडाइँ गर्नेछौं । त्यसका लागि सबै स्थानीय तह मिलेर संयुक्त आन्दोलन गर्न समेत पछि पर्ने छैनौ ।’

उहाँको तेस्रो प्रतिबद्धता महानगरलाई मेट्रोपोलिटन सिटी होइन कस्मोपोलिटन बनाउने हो । ‘यातायात प्रणालीलाई सुधार गर्ने मुख्य भूमिका रहनेछ । राजस्वको दायरा बढाउनेछौं । महानगरपालिका विकासका लागि मेट्रो होइन कस्मोको विषयमा ध्यान दिएका छौं’ –उहाँको भनाइ थियो । ‘मसँग धेरै योजना छन् । एक वर्षभित्र महानगरका धेरै विकासका योजना अघि बढ्नेछन् । तैपनि मुख्य रूपमा तत्काल गर्न सकिने विषयलाई पहिलो प्रतिबद्धताको रूपमा अघि सारेको छु । उपत्यकामा देखिएको फोहोरमैला समस्याको समाधान ९ महिनाभित्र गर्नेछु । मसँग फोहोरमैला व्यवस्थापन गर्ने महत्वपूर्ण योजना छ । त्यसलाई तत्काल अघि बढाउने पहिलो प्राथमिकता हो’ –स्थापितको भनाइ छ ।

वर्षातको पानी संकलन प्रविधिलाई उपत्यकाभर सञ्चालन गर्ने योजना सुनाउँदै मेयरका उम्मेदवार स्थापितले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो प्रविधि प्रयोग गरेमा जमिनमुनि पानी सञ्चित गर्न सक्नेछौं । त्यसो भएमा मेलम्चीभन्दा १० गुणा बढी पानी संकलन हुनेछ । उपत्यकालाई कहिल्यै पनि पानीको दुःख हुने छैन ।’ प्रतिबद्धताबारे जानकारी गराउँदै स्थापितले भन्नुभयो– ‘शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रको विकास गर्न अनगिन्ती योजना अघि बढाएको छु । अहिलेको प्रमुख प्राथमिकता पाँच विषय छन् ।’

विसं २०७४ को स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा उठ्न चाहेका स्थापित त्यस बेला असफल भएपछि त्यसको ५ वर्षपछि पुनः उम्मेदवार हुने मौका पाउनुभएको छ । उहाँले भन्नुभयो– ‘सबैको साथ र सहयोगमा मैले सजिलै विजय हासिल गर्नेछु ।’ एमाले वृत्तमा विकासप्रेमी भनेर परिचय कमाएका स्थापितले माइतीघर मण्डला, रानीपोखरी, रत्नपार्क बिस्तार गर्दै उहाँलाई देशभरका जनताले सम्झन्छन् । उहाँकै कार्यकालमा राजधानीमा आकाशेपुलको शुरूआत भएको थियो ।

मेयरका उम्मेदवार स्थापितका ५ प्रतिबद्धता

–.त्रिचन्द्र कलेजको पुनर्जीवन दिने
– संघीय सरकारबाट स्थानीय तहलाई अनुदान दिने बजेट बढाउन दबाब दिने
– ९ महिनाभित्र फोहोरमैलाको समस्या समाधान गर्ने
– महानगरलाई मेट्रोपोलिटन सिटी होइन कस्मोपोलिटन सिटी बनाउने
– आकाशे पानी रिचार्ज गरी मेलम्चीभन्दा दशगुणा बढी उपत्यकाबासीलाई पानीको व्यवस्थापन गर्ने