१४ करोड मूल्य बराबरको हिरोइनसहित जाम्बियन नागरिक पक्राउ



काठमाडौं  । 

साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठमाडाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मूल्य बराबरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो ।साउथ अफ्रिकाबाट ठूलो मात्रामा लागूऔषध सेतो हेरोइन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो समयदेखि साउथ अफ्रिका हुँदै नेपाल आउने यात्रीमाथि निगरानी राख्दै आएको थियो । प्रहरीको निगरानीलाई पनि छलेर ती महिला राजधानीको एक होटलमा पुग्न सफल भएकी थिइन् ।

ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महिलाको खोजीमा जुटेको थियो । साउथ अफ्रिकाबाट उक्त सामान नेपालमा छोडेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपुतुला होटलबाटै पक्राउ परेकी थिइन् । उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । पक्राउ परेका दुवैविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्