महानगरमा टिकट दिने जिम्मा देउवालाई


काठमाडौं  । 

स्थानीय निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने आज सोमबार अन्तिम दिन हो । हिजो आइतबार राति अबेरसम्म पनि प्रमखु सत्तारूढ दल नेपाली कांग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंगाउन सकेको छैन ।

विधानतः एक महिना अगावै उम्मेदवारको तय गर्नुपर्ने भए पनि आन्तरिक विवाद र गठबन्धनबीच तालमेलको विषयले अलमलमा परेको कांग्रेसले महानगरपालिकाको प्रमुख र उपप्रमुखको आधिकारिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

कांग्रेस विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा केन्द्रीय संसदीय समितिले गर्ने व्यवस्था छ । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले संसदीय समिति गठन गरी उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

पाँचदलीय गठबन्धनबीच ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख पदमा उम्मेदवारी दिने सहमति छ भने वीरगन्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । पार्टी विधानअनुसार महानगरपालिका कार्यसमितिबाट सिफारिस भएर आएको नाममध्येबाट सभापति देउवाले आधिकारिक उम्मेवार छनोट गर्ने मुख्य सचिव पौडेलले बताउनुभएको छ ।

गठबन्धन र तालमेलको सहमतिले उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि अलमलमा परेका स्थानीय तहका कांग्रेस नेता तथा कार्यकर्ताहरू पार्टीको आधिकारीक उम्मेदवारबारे आइतबार राति अबेरसम्म पनि अनविज्ञ थिए । पनौती नगर समितिका सचिव नारायण सापकोटा भन्नुहुन्छ– ‘हाम्रो नगर प्रमुख कांग्रेसको भागमा परेको छ । नगर कार्यसमितिबाट तीन जनाको नाम सिफारिस भएको छ ।’ आधिकारिक उम्मेदवार को हो भन्नेबारे आइतबार अबेरसम्म निक्र्यौल भएको छैन ।