अन्तिम समयसम्म कसरतमै सत्ता गठबन्धन


काठमाडौं । 

सत्ता गठबन्धनले मनोनय दर्ता गर्नुअघिसम्म गठबन्धन हुन बाँकी रहेका जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले सम्भव भएसँग गठबन्धन हुन बाँकी रहेका जिल्लामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । महानगर र उपमहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता गठबन्धनबीच अधिकांश स्थानीय तहमा भने चुनावी गठबन्धन बन्न सकेको छैन ।

प्रचण्डको स्वकीय सचिव रमेश मल्लले उम्मेदवारी दर्ता गर्नु अघिसम्म पनि सिट बाँडफाँटमा सहमति गरेर चुनावी तालमेल गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहान पाँचै पार्टीका शीर्ष नेताहरूबीच बैठक बसेर बाँकी रहेका ठाउँमा गठबन्धन गर्ने समझदारी बनेको छ । बैठकमा यसअघि चुनावी तालमेल गर्न तयार पारिएको साँतबुँदे आधारलाई पालना गर्ने पनि गठबन्धनमा सहमति भएको छ ।

यसबीच पूर्वसहमति पालना नभएको भन्दै सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । पाँच दलको बीचमा चुनावी तालमेल हुनुपर्ने भए पनि अधिकांश स्थानीय तहमा कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन गरेकोप्रति एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

यसैबीच ललितपुरमा सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी अलग हुने चेतावनी दिएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्ने क्रममा कांग्रेस र माओवादी केन्द्रले मात्रै भागबण्डा गरेपछि नेकपा समाजवादी गठबन्धनबाट अलग हुँदै ललितपुर महानगरको मेयर उपमेयरसहितका स्थानीय तहमा छुट्टै उम्मेदवार उठाउने तयारीमा लागेको हो ।

सत्तारूढ दलहरूबीचको भागबण्डामा महानगरपालिकामा एक प्रमुख र एक उपप्रमुख तथा उपमहानगरपालिकामा एक प्रमुख र तीन उपप्रमुखको उम्मेदवार पाएपछि उत्साहित भएको एकीकृत समाजवादी जिल्ला तहमा भएको गठबन्धप्रति असन्तुष्ट बनेको छ ।