एमालेले टुङ्गो लगायो १३ वटै पालिकाका उम्मेदवार गठबन्धनमा सहमति, उम्मेदवार अन्योल 

0
Shares

काभ्रे । 

नेकपा एमाले काभ्रेले जिल्लाका १३ वटै पालिकाका उम्मेदवारको टुङ्गो लगाएको छ । ६ वटा पालिकाका उम्मेदवार प्रदेश कमिटीले र ७ वटा गाउँपालिकाका उम्मेदवार जिल्ला कमिटीले टुङ्गो लगाएको एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । एमालेले सबै पालिकाका वडा सदस्यहरु समेत छनौट गरिसक्दा माओवादी केन्द्र र नेपाली काँग्रेस लगायतका दलहरु गठबन्धन गर्न सहमत भए पनि उम्मेदवार छनौटमा अलमलमा छन् ।

जिल्ला अध्यक्ष अशोक ब्याञ्जु पुनः धुलिखेल नगरपालिकाबाट नगर प्रमुख पदका लागि छनौट हुनु भएको छ । उहाँ नेपाल नगरपालिका संघको अध्यक्ष र नगरपालिकाहरूको अन्तर्राष्ट्रिय संस्थाको पनि अध्यक्ष हुनुहुन्छ । नेपालमै नमुना नगरपालिकाका रूपमा चिनिएको धुलिखेललाई अझै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै समृद्ध धुलिखेलका लागि अध्यक्ष ब्याञ्जुलाई पुनः उम्मेदवारी दिने पार्टीले निर्णय गरेको पोलिट ब्युरो सदस्य गोकुल बास्कोटाले बताउनु भयो । पाँच वर्षको अवधीमा शुन्य कार्बन उत्सर्जनको क्षेत्रमा धुलिखेलले विश्वका १५ सहरमा पार्न सफल भएको छ भने गुणस्तरीय खानेपानी, पार्कहरूको सहर, गरिबी न्यूनीकरण भएको सहर, बालमैत्री सहर, स्नातक सम्मको शिक्षा निःशुल्क भएको सहरका रूपमा समेत स्थापित गरेको छ ।

दिगो विकासका लागि पुरा गर्नु पर्ने लक्ष्यहरू मध्ये ४ वटा लक्ष्य धुलिखेलले पुरा गरिसकेको छ भने स्वस्थ सहरको अभियान नेपालमै पहिलो पटक सुरु गरेको छ । ‘महत्त्वपूर्ण योजनाका साथ धुलिखेलको समृद्धतालाई अझै अन्तर्राष्ट्रियकरण गरी नागरिकहरूको आय आर्जन वृद्धि गर्न थप पहल हुनेछ’–नगर प्रमुख उम्मेदवार अशोक ब्याञ्जुले भन्नुभयो–‘हिजाको केहि क्रमागत योजनाहरुको निरन्तरता र थप नयाँ योजनाहरूले धुलिखेलको समृद्धतालाई अगाडी बढाउने छौँ ।’ धुलिखेलमा उपप्रमुख युवा नेता कानुन व्यवसायी लालतारा अधिकारीले प्राप्त गर्नु भएको छ । पनौतीमा भिम न्यौपाने र गिता बञ्जारा पुरानै पदमा दोहोरिनु भएको छ । उहाँहरुलाई पार्टीले क्रमशः प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बनेपामा युवा नेता रत्न कुश रञ्जित र कानुन व्यवसायी सामाजिक व्यक्तित्व विमला सापकोटालाई टिकट दिने निर्णय गरेको छ ।

यस अघि प्रमुख र उपप्रमुख हुनु भएका लक्ष्मीनरसिंह बादे र रेखा सापकोटा दाहालले पुनः उम्मेदवार हुने इच्छा राख्नु भएन । पाँचखालमा युवा नेताहरु कञ्चन अधिकारी र सूर्यमाया दनुवारलाई टिकट दिएको छ । दनुवार पत्रकारितामा क्रियाशील हुनुका साथै र सामाजिक अभियन्ता हुन् । पाँचखालमा यस अघि एमालेले झिनो मतले पराजय बेहोरेको थियो । मण्डन देउपुर नगरपालिकामा विदुर प्रसाद सापकोटा र सरिता ढकाललाई टिकट दिएको छ । सापकोटा यस अघि २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जैसिथोक गाविसका अध्यक्ष हुन् । ढकाल देउपुर क्षेत्रमा राम्रो पकड भएकी नेता हुन् । मण्डन देउपुर नगरपालिकामा एमालेले विजयी हासिल गरेको थियो । प्रमुख समाजवादी पार्टीमा गए पछि उपप्रमुखलाई एमालेले प्रमुख बनाउन खोजे पनि स्वास्थ्यका कारण उम्मेदवार नहुने बताए पछि नयाँ उम्मेदवार छनौट गरेको हो ।

नमोबद्ध नगरपालिकामा एमाले जिल्ला सचिव राजन भुर्तेल प्रमुख र विद्यार्थी नेता सम्झना तामाङले उपप्रमुखको टिकट पाएका छन् । यस अघि प्रमुख भएका टिपी शर्माले उम्मेदवारी दिने चाहना राखे पनि पार्टीले नयाँ व्यक्ति छनौट गरेको हो । बेथान्चोक गाउँपालिकामा कानुन व्यवसायी एवं २०५४ सालमा गाविस अध्यक्ष पदका उम्मेदवार कमल तिमल्सिना र सरला लामिछानेलाई अध्यक्ष र उपाध्यक्ष पदको टिकट दिएको छ । रोशी गाउँपालिकामा कानुन व्यवसायी एवं युवा नेता देवसागर लामा र यस अघि उपाध्यक्ष पदमा उम्मेदवार भई झिनो मतले पराजय ब्यहोरेकी सामाजिक व्यक्तित्व बबिता बोहोरालाई टिकट दिएको छ । तेमालमा यस अघि पार्टीका जिल्ला सचिव भएका इन्द्र तामाङ र सम्तेल लामालाई टिकट दिएको छ ।

भुम्लुमा जिल्ला समन्वय समितिका प्रवक्ता समेत रहेका व्यवसायी युवा नेता प्रेम लामा र कल्पना श्रेष्ठलाई टिकट दिएको छ । चौरीदेउराली गाउँपालिकामा सामाजिक सस्थाका अन्तर्राष्ट्रिय स्तरका नेता जितराम लामा र बबिता खरेललाई टिकट दिएको छ । खानि खोला गाउँपालिकामा डम्बर तिमल्सिना र रुकमणी गुरुङ्गलाई टिकट दिएको छ । गुरुङ्ग यस अघि गाउँपालिकाको उपाध्यक्ष हुन् । महाभारत गाउँपालिकामा पूर्णबहादुर वाईवा र शान्ति तितुङ्ग मगरलाई टिकट दिएको छ । दुवै जना पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् ।

गठबन्धनमा सहमति

नेपाली काँग्रेसले १३ वटा मध्ये ७ वटा पालिका प्राप्त गर्ने भएको छ । बनेपा, पनौती, पाँचखाल र नमोबद्धको प्रमुख काँग्रेसले पाउने छ भने धुलिखेल र मण्डन देउपुर नगरपालिकामा समाजवादीले पाउने भएको छ । माओवादीले नगरपालिकामा अवसर पाएन । त्यस्तै काँग्रेसले बेथान्चोक, रोशी र तेमालमा अध्यक्ष पदमा उम्मेदवारी दिने सहमति भएको छ भने माओवादीले भुम्लु, महाभारत, चौरीदेउराली र खानिखोलाका लागि अध्यक्ष पदमा उम्मेदवारी प्राप्त गरेको छ । यस अघि काँग्रेसले ४ वटा, माओवादीले दुई वटा र एमालेले ७ वटा पालिकामा विजय हासिल गरेको थियो । जिल्लामा रहेको समाजवादीले पनि कुनै पालिकामा पनि प्रमुख पदको उम्मेदवार बन्ने अवसर प्राप्त गरेन ।