सुनचाँदी कारोबारको ६० प्रतिशत वागमतीमा



हेटौंडा  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यले नेपाली गरगहनाको आन्तरिक बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत मौलिकता बढ्दै गएको बताउनुभएको छ ।

हेटौंडामा भएको महांसघ प्रदेशको प्रथम साधारणसभामा उहाँको यस्तो भनाइ आएको हो । यस क्षेत्रलाई व्यवस्थित गरी गरगहना व्यवसायको प्रवद्र्धन गर्न र नेपाली अर्थतन्त्रकोे सवलीकरणका लागि राजस्व वृद्धि, रोजगार बिस्तारका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभएको छ ।

नेपालमा हुने सुनचाँदी कारोबारको ६० प्रतिशत हिस्सा वागमती प्रदेशमा रहेको र यसले प्रदेशको अर्थतन्त्रमा उल्लेखनीय भूमिका खेलेको उहाँले बताउनुभयो । गरगहनाले जातीय, धार्मिक र विभिन्न साँस्कृतिक पहिचान बोक्ने उहाँको भनाइ छ ।सुनचाँदी व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष बज्राचार्यको सभाध्यक्षता तथा महासंघ केन्द्रीय अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

महासंघले चालु आर्थिक वर्षमा ५ करोड ६८ लाख ५४ हजार १ सय रुपियाँ आम्दानी गरेको छ भने ३ करोड ३६ लाख ८३ हजार ३ सय खर्च गरेको बताइएको छ ।साधारणसभामा महासंघ वागमती प्रदेश निवर्तमान अध्यक्ष दियेशरत्न शाक्य र मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण गुप्ताअग्रवाल लगायत महासंघ जिल्ला अध्यक्षहरुको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्