एमालेबाट मेयरमा अनन्त



हेटौंडा ।

नेकपा एमालेको हेटौंडा उपमहानगर मेयरमा अनन्तप्रसाद पौडल उम्मेदवार बन्ने हुनुभएको छ भने उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिने निश्चय भएको छ ।

एमालेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको प्रमुख (मेयर) तथा उपप्रमुख (उपमेयर) मा उम्मेदवाहरु टुंगो लगाएको हो ।
नेकपा एमालेको काठमाडौंमा भएको केन्द्रीय सचिवालय बैठकले मेयरमा संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले उपमेयरमा नेकपा एमाले मकवानपुर सचिवालय सदस्य काफ्लेलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको गठवन्धनलाई पराजित गर्दै एमालेले हेटौंडामा विजय हासिल गरेको थियो । एमालेबाट सिफारिस हुनुभएका वर्तमान मेयर हरिबहादुर महतले भने यस पटक टिकट पाउन सक्नुभएन । २०४९ साल र २०५४ सालमा उपमेयर तथा २०७४ मा मेयर हुनुभएका महत ३० वर्षपछि हेटौंडा नगरको नेतृत्वबाट बाहिरिनुभएको छ ।नेकपा एमालेका पूर्वनारायणी अञ्चल सचिव, पटकपटक मकवानपुरको नेतृत्व, पूर्ववागमती प्रदेश कमिटी संगठन विभाग प्रमुख पौडेल पुराना तथा अनुभवी नेता हुनुहुन्छ । दोस्रो संविधानसभामा मकवानपुरबाट विजयी हुनुभएका पौडेलले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेकपा एमालेलाई मकवानपुरमा स्थापित गर्न पौडेलको महत्वपूर्ण भूमिका छ ।

एमालेबाट उपमेयरको उम्मेदवार काफ्ले अनेम संघको राजनीतिबाट एमालेको मूल राजनीतिमा स्थापित हुनुभएकी नेतृ हुनुुहुन्छ । पार्टीको राजनीतिबाहेक विभिन्न सामजिक अभियानमा समेत जोडिनुभएकी काफ्ले हेटौंडाकी लोकप्रिय महिला नेतृमा पर्नुहुन्छ । एमालेले यस पटक पनि हेटौंडामा अनुभवी र युवाको मिश्रण गर्दै मेयर तथा उपमेयरको उम्मेदवार चयन गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्