पर्साका प्रमुख दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा मुख्य दलहरुले सोमबार मनोनयन दर्ता गराउने भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।एकै दिन चाप कम होस भनेर दुई दिन राखिएको भए पनि मुख्य दलहरुले भोलि नै उम्मेदवारी दर्ता गराउने भएका छन् ।

आकांक्षी धेरै भएर उम्मेदवारको टुंगो लाग्न नसकेका कारण दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्न लागेका हुन् ।हाल पर्सामा कुनै पनि दलले १४ वटै पालिकाको उम्मेदवार टुंगो लगाएका छैनन् ।

पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीले मनोनयन दर्ताका लागि सोमबारको समय माग गरेको निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो । उहाँका अनुसार कुनैपनि दलले आईतबारका लागि समय लिएका छैनन् । कांग्रेसले सोमबार दिउँसो २ बजे, नेकपा एमालेले अपरान्ह ३ बजे र लोसपाले अपरान्ह साढे ३ बजेका लागि समय माग गरेको छ ।

जनता समाजवादी पार्टीले पनि सोमबार मनोनयन दर्ता गराउने तयारी गरिरहेको छ ।वीरगन्जसहित अधिकांश पालिकामा सोमबार मनोनयन दर्ता गराउने जसपाका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवले जानकारी दिनुभयो । समय नलिए पनि इच्छुक जो कोही योग्य व्यक्तिले आइतबार नै मनोनयन दर्ता गराउन सक्नेछन् ।

हरेक दल र इच्छुक योग्य नेपाली नागरिकले आ–आफनो पालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने जिल्ला निर्वाचन अधिकारी झाले जानकारी दिनुभयो । वीरगन्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने अन्य स्थानीय तहहरुमा नगर तथा गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्सामा ६ वटा राष्ट्रिय दलसहित ३३ वटा दल दर्ता छन् ।