सहकारीलाई ठगी खाने भाडो नबनाऔं


भक्तपुर ।

सहकारी क्षेत्रलाई ठगी खाने भाँडोको रुपमा उपयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । सहकारीको नाममा विकृति बढ्दै गएको बताउँदै उनीहरुले सहकारी क्षेत्रले निम्न मध्यम वर्गका लगायत सबै जनताको हितमा समेत कार्य गर्नुपर्ने बताएका छन्।

भक्तपुर सूर्यविनायक नगरपालिका १ सिरुटारमा आज आयोजित जय गणपतिबचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो भनाइ ब्यक्त गरेका हुन् ।

कार्यक्रममा वागमति प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छेले सहकारीको नाममा धेरै ठाउँमा ठगी भइरहेको बताउँदै सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न लागिपर्ने बताउनुभयो ।उहाँले जय गणपति जस्ता नियम बमोजिम संचालित सहकारीले जनतामा बचत गर्ने बानीको बिकास गरी आर्थिक खाँचो टार्न सहयोगी बनेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमण कायस्थले केही बर्ष अघि जय गणपतिबचत तथा ऋण सहकारीमा समस्या आएको भए पनि अहिले ऐन बमोजिम उत्साहजनक ढंगले सहकारी संचालन भैरहेको बताउनुभयो ।सो अवसरमा सुर्यबिनायक नगरपालिकाका सहकारी प्रमुख राजेन्द्र श्रेष्ठ र सुनपा वडा नं.१का वडाध्यक्ष सानुकाजी कायस्थले सहकारीलाई ठगी खाने भाडो बनाउने प्रबृत्तिलाई निरुत्साहित गर्दै सहकारी अभियानलाई देशमा ब्याप्त गरिबी न्यूनिकरण र आर्थिक,सामाजिक रुपान्तरणका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग राज्यमन्त्री जोन्छेले जय गणपति बचत तथा ऋण सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०७९ सालको भित्तेपात्रो बिमोचन गर्नुका साथै सहकारीले संचालन गरेको हवाई टिकट सेवाको समेत शुभारम्भ गर्नुभयो । सहकारीले यस अघि नै मनि ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ ।