कांग्रेसको असन्तुष्टिबीच मेयरको टिकट समाजवादीलाई

0
Shares

हेटौंडा । 

सत्ता गठबन्धनबाट हेटौंडा उपमहानगर मेयरको टिकट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले पाउने हुनुभएको छ । शनिबार महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले उक्त निर्णय गरेको हो ।

लामा हेटौंडा उपमहानगरकी बहालवाला उपमेयर हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयर उम्मेदवार लामाले तत्कालीन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गर्नुभएको थियो ।

उहाँले २३ हजार ४ सय ३७ मतसहित चुनाव जित्दा माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाउनुभएको थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सत्ता गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी केन्द्रीय भागवण्डा गरिएको थियो । एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटीको शनिबार बसेको बैठकले हेटौंडाको मेयरका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको थियो ।

हेटौंडाको मेयर नेकपा (एस) लाई दिए एकल उम्मेदवार खडा गर्ने कांग्रेस हेटौंडा नगरले चेतावनी दिइसकेको छ । हेटौंडाको मेयर नेकपा (एस) लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो । स्थानीय तह निर्वाचनमा हेटौंडा मेयरको टिकट नेकपा (एस) लाई दिने निर्णय सच्याउन हेटौंडा नगर कार्यसमितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण गरेको छ ।

पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समिति र गठबन्धन नेतृत्व बैठकले गरेको सहमतिप्रति असहमति जनाउँदै निर्णय सच्याउन ध्यानाकर्षण गरिएको हो । गठबन्धन दलबीच हेटौंडा उपमहानगर मेयरमा नेकपा (एस) का तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे नगरका १९ वटै वडाका सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत् प्रतिस्पर्धाका आधारमा एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । पार्टी नगर सभापति उत्सव इटेनीले सत्ता गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल गरेको बताउनुभयो ।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाका आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ’, उहाँले भन्नुभयो–‘गठबन्धन दलहरुबीच भागबवण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिई कार्यकर्ताको मर्म र भावनाको बेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’

उहाँले मतभारलाई मध्यनजर नगरी कांग्रेसलाई नगर मेयरको टिकट नदिए गठबन्धनको निर्णय नमान्ने उद्घोष गर्दै भन्नुभयो– ‘निर्णय सच्चिनेमा आशावादी छु ।’गत निर्वाचनमा कांग्रेस करिब ६ सयमात्रको मतान्तरले एमालेसँग पराजित भएको थियो ।

कांग्रेस वागमतीले तोक्यो जिल्ला संयोजक

नेपाली कांग्रेस वागमती प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन वागमती प्रदेशका १३ जिल्लामा संयोजक तोक्नुभएको छ ।
नेपाली कांग्रेस वागमती प्रदेशले विज्ञप्ति जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशन रहने गरी १३ जिल्लाका पालिकामा तोकिएका प्रदेश प्रतिनिधिसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको जानकारी दिएको छ ।

कांग्रेस वागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवनमा दीर्घमान श्रेष्ठ, ललितपुरमा ऋषिराम घिमिरे, नुवाकोटमा जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजक तोकेको हो ।
भक्तपुरमा कृष्णलाल भँडेल, मकवानपुरमा निमा लामा, धादिङमा सन्तबहादुर प्रजा, दोलखामा प्रभात तामाङ, रसुवामा लामा कार्पुतामाङ, सिन्धुलीमा दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली (भण्डारी) लाई जिल्ला संयोजक तोकिएको कांग्रेस वागमती प्रदेश समिति मुख्य सचिव राजु नेपालले विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।

गठबन्धनले एमालेलाई सघायो

पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगर नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति गरेपछि मकवानपुर कांग्रेस विभाजित भएको छ । संस्थापन पक्ष केन्द्रको निर्णय मानेर अघि बढ्नुपर्ने पक्षमा छ भने इतर समूह सहमतिविरुद्धमा उभिएको छ ।नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालय हेटौंडामा बिहीबार इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यकर्ताको भावनाविपरीत गठबन्धनको निर्णय मान्य नहुने बताएका थिए् । कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत हेटौंडा एकीकृत समाजवादीको हातमा दिँदा नेपाली कांग्रेसलाई दीर्घकालीनरूपमा आघात पुग्ने बताउनुहुन्छ । केन्द्रीय समितिले हेटौंडाको विषयमा पुनरावलोकन नगरे आफूहरु एक्लै निर्वाचनमा होमिने चेतावनी उहाँको छ ।

आमकार्यकर्ताको बुझाई एक्लै निर्वाचनमा जाँदासमेत निर्वाचन जितिन्छ भन्ने रहेको भन्दै उहाँले केन्द्रले ‘पाथीमा मुरी खनाउन’ भनेको तर आफूहरु त्यसो गर्न तयार नरहेको धारणा राख्नुभयो । हेटौंडामा जनमतको यकिन नभएको र भर्खर संगठन निर्माणको क्रममा रहेको एकीकृत समाजवादीलाई प्रमुख मान्न आफूहरु तयार नभएको कठायतको भनाइ छ । उहाँले एमालेविरुद्ध गठित पाँचदलीय गठबन्धन झन् एमालेलाई नै सघाउन बनेकोजस्तो देखिएको बताउनुभयो ।

संस्थापन पक्षले भने केन्द्रको निर्णय मान्नुपर्ने बताएको छ । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले आफ्ना नेताले टिकट पाएनन् भनेर विरोध गर्नु गलत भएको बताउनुभयो । उहाँले गठबन्धन भत्काउने नियतले पार्टीलाई असहयोग भएको बताउँदै पार्टीको निर्णय नमान्ने कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिनुभयो ।उपमहानगर मेयर पद एकीकृत समाजवादीलाई दिने सत्तागठबन्धको निर्णयको विरोधमा मकवानपुरमा दबाबमूलक कार्यक्रम शुरु भइसकेको छ । केन्द्रीय निर्णयको विरोधमा केही दिनअघि पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो ।