उम्मेदवार टुङ्गो लगाउन दलहरुको दौडधूप

0
Shares

डोटी । 

डोटीमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त रहेका छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा एमालेले उम्मेदवार धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेको छ ।

एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका कार्य, व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो-याउने जनाएको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो-याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो-याउने निर्णय गरेको एमाले डोटी कार्यालयले जनाएको छ । आदर्श गाउँपालिकामा डम्बरबहादुर वली भने गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन हुनुभएको थियो ।

यसै गरी, बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा निर्वाचनमा भाग लिने लगभग निश्चित भएर प्रचारमा जुटिसक्नुभएको छ भने अन्य पालिकामा पनि सर्वसम्मतको प्रयास भइरहेको एमालेले जनाएको छ । सबैजसो पालिकामा छलफल भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।उता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझै अन्योलता कायमै छ ।

दगठबन्धनका दलकाबीचमा भागवण्डा नमिलेका कारण उम्मेदवार टुङ्ग्याउने काम अलमलमा परेको हो । अघिल्लो चरणमा छलफल हुँदा सहमति बन्न नसकेपछि छलफलमा आएको विषयलाई सबै पार्टीले आफ्ना प्रदेश समितिलाई पठाएका छन् । यद्यपि फेरि पनि छलफल गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । पार्टी केन्द्रीय सर्कुलरअनुसार सिटको भागवण्डा भएपछि मात्रै टिकट टुङ्ग्याउने गठबन्धन दलका शीर्ष नेताहरुले जनाएका छन् ।

एक्लाएक्लै चुनाव हुँदा वा त्रिपक्षीय प्रतिस्पर्धा भए पनि जिल्लामा कांग्रेस–एमालेबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि अघिल्लो निर्वाचनमा झीनो मतले हार–जित भएको क्षेत्रमा नेकपा एसले काट्ने मतले एमालेलाई क्षति पुग्ने अनुमान गरिएको छ । तर, एमालेले भने नेकपा एसले धेरै मत नकाट्ने र काटेको मत सहजै भर्पाइ हुने दाबी गरिरहेको छ ।
प्रतिस्पर्धी एमालेको विखण्डित अवस्थाले कांग्रेसको स्थानीय नेतृत्व हौसिएको देखिन्छ ।

उसको विखण्डनले अघिल्लोपटक एमालेले झीनो मतले जितेका पूर्वीचौकी, दिपायल सिलगढी र सायलमा सहजै जित हासिल गर्नसक्ने देखिँदा जोरायल, आदर्श गाउँपालिका जस्ता एमालेको संगठन मजबुत रहेका क्षेत्रमा जित हासिल गर्नसक्ने कांग्रेस नेताहरुमा आत्मविश्वास पलाएको देखिन्छ । अघिल्लोपटक एमालेको संगठन तितरवितर भएर माओवादीले जितेको बोगटान फुड्सिल गाउँपालिकामा समेत संगठन सुधार गरेकाले सहजै जित्ने कांग्रेस नेताहरुले अनुमान गरेका छन् ।

यता, एक्लै धेरै स्थानीय तहमा निर्वाचन जित्ने ‘लालशा’ पालेको कांग्रेसको स्थानीय पार्टी पंक्तिका लागि सत्ता गठबन्धनमा तालमेल निकै अप्रिय बनेको छ । जिल्ला सभापति नरेन्द्रबहादुर सिंहसहित पदाधिकारी गठबन्धनलाई मिलाउने पक्षमा छन् । सबैलाई मान्य तथा सहज हुने तरिकाले आफूले गठबन्धनलाई मिलाउने प्रयास गरिरहेको सभापति सिंहले बताउनुभयो । ‘मेरो गोरुको बाह्रै टक्का कसैले गर्नु हुँदैन, सबैलाई सम्मान र सहज हुने गरी पालिका निर्धाण गरिनेछ ।’ –उहाँले भन्नुभयो ।

कांग्रेसको जिल्लाको शीर्ष नेतृत्व मानिएका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धन मिलाउन प्रयासरत हुनुहुन्छ । पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस क्षेत्रीय सभापति बलायरले आफू गठबन्धन मिलाउनका लागि प्रयासरत रहेको र केही दिनभित्रमा सबै कुराको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘गठबन्धनमा विवाद हुँदैन, अहिले केही ठाउँमा समस्या देखिए पनि केही दिनमा सबै समस्या समाधान हुनेछ ।’ उता माओवादी केन्द्रका नेता तथा डोटीका जिल्ला इन्चार्ज शिवसिंह ओलीले जिल्लामा गठबन्धनको विकल्प नरहेको बताउनुभयो ।

यसै गरी नेकपा समाजवादीका नेता तथा जिल्ला अध्यक्ष दीर्घराज बोगटीले पनि डोटीमा गठबन्धन एक भएर निर्वाचनमा जानुपर्ने बताउँदै आउनुभएको छ । जिल्लामा गठबन्धन आवश्यक रहेको र गठबन्धन अहिले मात्रै नभएर संघीय निर्वाचनसम्म कायम हुनुपर्ने उहाँको भनाइ छ । दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी नगरपालिका, आदर्श, सायल, जोरायल र पूर्वीचौकी गाउँपालिका गरी पाँच स्थानीय तहमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो भने शिखर नरपालिका, केआईसिंह र बडिकेदार गाउँपालिका गरी तीन स्थानीय तहमा कांग्रेस विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष पदमा विजयी हासिल गरेको थियो ।

चुनावी नारा भन्दा पनि माग पूरा गर्ने तथा नागरिकका समस्या समाधान गर्ने नेताहरु अहिले आवश्यक रहेको मतदाताको माग रहेको छ । जिल्लामा सडक सुविधा पुगे पनि रोजगारी नपाएका कारण अहिले पनि हजारांै युवा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले गाउँमै रोजगारी दिनेलाई अबको भोट दिने योजना रहेको जोरायल गाउँपालिका स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘गाउँ–गाउँमा सडक सुविधा त पुगे तर रोजगारी पुगेन, जसले गर्दा युवाशक्ति विदेश पलाएन हुँदै छ, युवाहरुलाई गाउँमै रोजगारी दिन सक्नेलाई भोट दिन्छौं ।’

जिल्लामा रोजगारीका लागि विभिन्न काम गर्न सकिने भएका र यहाँ थुप्रै पर्यटकीय क्षेत्र भएकाले पनि ती क्षेत्रको स्तरोन्नतिसहित विकास गर्न सके गाउँमै रोजगारी सिर्जना हुनसक्ने केआईसिंह गाउँपालिका– ५ का स्थानीय सुरेन्द्र शाहीले बताउनुभयो । ‘प्रशिद्ध धार्मिकस्थल बडिकेदारदेखि सुदूरपश्चिमकै प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तड डोटीमा छ, ती क्षेत्रको स्तरोन्नतिसहित विकास गरे कामका लागि परदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’

–उहाँले भन्नुभयो । बिभिन्न जडिबुटी खेती, पशुपालनमा अनुदान तथा कृषि खेतीमा लगानी गरे यहाँको बेरोजगारीमा निकै कमि हुने स्थानीयवासीको बुझाइ रहेको छ । पहुँचका भरमा योजना बितरण गर्नेदेखि निर्वाचनका समयमा मात्रै नेताहरु गाउँ छिर्ने तथा अन्य बेला गाउँ नआउने गर्नाले यहाँका कतिपय स्थानीयहरु नेता प्रति आक्रोसित बन्दै गएका छन् ।