मनमोहन अस्पतालले शुरू ग-यो आईभीएफ प्रविधि


काठमाडौं  । 

काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःसन्तान दम्पतीका लागि आईभीएफ (इन भेट्रो फर्टिलाइजेसन) प्रविधिबाट बच्चा जन्माउने सेवा शुरू गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) का संस्थापक अध्यक्ष राजेन्द्र पाण्डेले शनिबार मनमोहन अस्पतालमा एक समारोहका बीच आईभीएफ क्लिनिकको शुभारम्भ गर्नुभएको हो । मनमोहन अस्पताल नेको नेपालअन्तर्गत सञ्चालित छ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यो क्लिनिकले आईभीएफ सेन्टरको नमुनाकै रूपमा आफूलाई उभ्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा आईभीएफ प्रविधि भित्र्याउने स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले आईभीएफ सेवाबाट नेपाली दम्पतीले विदेशमा गएर पाउनुपर्ने दुःखको अन्त्य भएको जिकिर गर्दै भन्नुभयो– ‘एकातिर नेपाली दम्पतीले विदेशमा गएर पाउनुपर्ने दुःखको अन्त्य भएको छ भने अर्कोतिर यहाँको ठूलो धनराशि विदेशिनुबाट पनि जोगिएको छ ।

उहाँले विश्वमा यो प्रविधि शुरू भएको २७ वर्षपछि ओम अस्पतालले नेपालमा पहिलोपटक सन् २००६ मा टेस्टट्युब बेबी जन्माउन सफल भएको स्मरण गर्दै हाल नेपालमा २६ वटा केन्द्रले आईभीएफ सुविधा दिइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा. केदारप्रसाद सेन्चुरीले निःसन्तान दम्पतीको आशा र भरोसा बनेको आईभीएफ सेवा शुरू गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । उहाँले आठ वर्षअघि शुरू भएको मनमोहन अस्पताललाई ३ सय शय्याबाट ७ सय शय्याको विशिष्टीकृत सेवा दिने अस्पतालको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
प्राकृतिक रूपमा बच्चा जन्माउन नसक्ने दम्पतीलाई यो प्रविधिले बच्चा जन्माउन सहयोग गर्छ । कतिपय महिलाहरूको अण्डासयमा डिम्ब नबन्ने समस्या हुन्छ भने बनेका डिम्ब पनि नबढेर गर्भधारणका लागि योग्य नहुने समस्या हुन्छ । त्यसै गरी पाठेघरको नली पूरा बन्द हुँदा, हर्मोनमा गडबडी हुँदा र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो भएको अवस्थामा पनि सन्तान जन्माउन नसकिने भएकाले यस्ता समस्या भएका महिलाका लागि सन्तान जन्माउन उत्तम विकल्पको रूपमा आईभीएफ प्रविधि रहेको छ ।

सन्तान जन्माउन सक्षम नभएका पुरुषका लागि पनि यो नै उत्तम विकल्प हो । यो प्रविधिमा पुरुषको शुक्रकिट र स्त्रीको डिम्ब संकलन गरी टेस्ट ट्युबमा राखी निशेचन प्रक्रियामार्फत भ्रुण तयार गरिन्छ । यसरी तयार गरिएको भ्रुणलाई ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

यसरी भ्रुण प्रतिस्थापन गरिसकेपछि अन्य सामान्य शिशुसरह नै आमाको गर्भमा नौ महिना बसेर शिशुको जन्म हुन्छ । चिकित्सकहरूका अनुसार नेपालमा यो प्रविधि २५ देखि ३० प्रतिशत मात्र सफल भएको छ भने विकसित देशहरू आईभीएफको सफलता प्रतिशत ३५ देखि ५० सम्म छ ।