सिट बाँडफाँटमा एकीकृत समाजवादी रुष्ट


काठमाडौं । 

सत्तारूढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सहमति भएसँगै उम्मेदवारी टुंगो लगाउने गृहकार्यमा छन् । पाँच दलीय गठबन्धनमा सहमतिकै आधारमा ६ महानगर र ११ उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगो लागेको थियो ।

सत्तारूढ दलबीच ७७ वटै स्थानीय तहमा गठबन्धन गर्ने समझदारी भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकाको तल्लो कमिटीमा असन्तुष्टि बढेपछि गठबन्धनले नगरपालिका र गाउँपालिकामा आवश्यकताको आधारमा गठबन्धन गर्न निर्देशन दिएको थियो ।महानगर र उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बराबर सिट पाएका छन् ।

तर, नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँटमा भने एकीकृत समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीबीच धमाधम गठबन्धन बन्न शुरू गरेको छ । केन्द्रमा सत्ता गठबन्धन गर्ने समझदारी बने पनि नगरपालिका र गाउँपालिकामा तीन दलबीच गठबन्धन बन्न सकिरहेको छैन । गठबन्धनबीच गत निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल समाजवादीको जनप्रतिनिधि रहेका ठाउँमा समाजवादीलाई छोड्ने सहमति बनेको थियो । तर, अधिकांश स्थानीय तहमा समाजवादीलाई छोडेर कांग्रेस र माओवादीबीच गठबन्धन बन्ने क्रम शुरू भएपछि एकीकृत समाजवादी रुष्ट बनेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य होम बुढाथोकी केन्द्रको मर्म र चाहनाअनुसार सत्ता गठबन्धन बन्नुपर्ने भएपछि नगरपालिका र गाउँपालिकामा आफूहरूलाई बाइपास गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टी कमजोर छैन, गठबन्धनलाई जिताउन एकीकृत समाजवादी निर्णायक ठाउँमा छ, ससम्मान गठबन्धन गरेर जानुको विकल्प छैन ।’

स्थानीय तहमा भने कांग्रेस र माओवादीले एकीकृत समाजवादीले सिट बाँडफाँट गर्न आनाकानी गर्दै आएका छन् । कांग्रेस माओवादी मिल्दा नै चुनावी जित्न सकिने भएपछि समाजवादीलाई सहभागी नगराइएको बताइएको छ । जिल्ला स्तरमा गठन भएको सत्ता गठबन्धनको वार्ता समितिमा समाजवादीले अनावश्यक माग राख्दा सिट बाँडफाँटमा सकस भएको माओवादीका एक नेता बताउँछन् । स्थानीय तहको आवश्यकताअनुसार गठबन्धनकैबीचमा चुनावी तालमेल गरेर अघि बढेको र यसमा एकीकृत समाजवादीले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

उत्साहित बनाएन: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटले आफूलाई उत्साहित नबनाएको बताउनुभएको छ ।

उहाँले महानगर र उपमहानगर पालिकामा भएको सिट बाँडफाँटले उत्साहित बनाए पनि जिल्ला तहमा भएको सिट बाँडफाँटले उत्साहित बनाउन नसकेको बताउनुभएको हो । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि सोहीअनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरि त्यति आशावादी हुने स्थिति नरहेको बताउनुभयो ।देशैभरि न्यूनतम रूपमा पनि आफ्नो उपस्थिति हुनैपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेस, माओवादी, जसपाले जितेको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनुपर्दछ । त्यसमा आम रूपमा ठीकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नुपर्दछ । त्यसअनुसार काम भएन, यो कदम सच्याउनुपर्छ ।’