ललितपुर वडा नम्बर १८ को उम्मेदवार परिचय सम्पन्न

अध्यक्षका उम्मेद्दार खड्का भन्छन्ः तपाईले विजयी गराउनुस ३ महिनाभित्र प्रतिबद्धता कार्यान्वयन गर्छौ


न्युज अफ नेपाल,ललितपुर।

ललितपुर महानगरपालिका वडा नम्बर १८ मा एमालेको उम्मेदवारको परिचय कार्यक्रम सम्पन्न भएको छ । आज भैसेपाटी आयोजित कार्यक्रममा एमालेको तर्फबाट ललितपुर महानगरपालिकाका मेयर ,उपमेयर सहित वडा समितिको नाम सार्वजनिक गरिएको हो ।

राष्ट्रिय युवा संघ वडा नम्बर १८ स्तरीय भेला र युवा संघको वडा कमिटी गठन गर्न आयोजित कार्यक्रममा उम्मेद्दारको परिचय गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयरमा हरीकृष्ण व्यञ्जनकार, उपमेयरमा मन्जरी शाक्यको परिचय गराइएको थियो । कार्यक्रममा वडाको तर्फबाट अध्यक्षमा दामोदर खड्का, सदस्यमा रुकमणी महर्जन, दलित महिला सदस्यमा राधिका रोक्का र सदस्यहरूमा गोपाल डंगोल र निरोज कुँबरको नाम सार्वजनिक गरिएको थियो ।

महानगरको अधिकांश वडामा अध्यक्ष र सदस्यको टुंगो लगाउन नसकेको अवस्थामा सो वडामा सबैको नाम सर्वसम्मत टुंगो लगाइएको हो । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकारले एमाले पार्टी न्याय ,सत्य र विकासको पक्षमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो–त्यसैले हामीले यो आशा व्यक्त गरेका छौ कि वैशाख ३० गतेको निर्वाचनमा मेयर , उपमेयर र वडा अध्यक्ष सहित सातै जनालाई विजयी गराउनुहुनेछ । त्यसैले पार्टीको यो भनाई रहेको छ कि सात सूर्य सातै छाप ।

उहाँले हाम्रो जित भएमा पहिलो प्रत्येक वडालाई पहिलो वर्ष ५ करोड रुपियाँ  विनीयोजन गर्ने बताउनुभयो । यही अनुपातमा ५ वर्षभित्र सबै वडाको बजेट १० करोड पुर्‍याएर विकासका सबै काम सम्पन्न गर्नेछौ । उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा बजेट वृद्धि गरिने जानकारी दिनुभयो ।

उपमेयरका उम्मेदवार मन्जरी शाक्य (आस्था)ले यो वडामा मेयर, उपमेयर , वडा अध्यक्ष सहित सबै पदाधिकारी एमालेबाटै विजयी हुने ठोकुवा गर्दै गठबन्धनले नचिताए हुन्छ भन्नुभयो । म यो भन्न चाहन्छु कि यो स्थानीय निर्वाचनमा ललितपुर महानगरमा पुरै सेट एमालेले जित्ने छ । उहाँले सबै वडाले आफ्नो प्रतिबद्धता जारी गर्दै सोही अनुसार घरदैलोमा पुग्नुपर्ने बताउनुभयो ।

प्रदेश सदस्य एवं वडा अध्यक्षका उम्मेदवार दामोदर खड्काले सात सूर्य सात भोट भन्ने नारालाई सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पार्टीको तर्फबाट प्रतिबद्धता उहाँले भन्नुभयो–यो वडामा बाध्यताको कारण मैले अध्यक्षमा उम्मेदवारी दिएको हु । म यो भन्न चाहन्छु कि मेरो टिमले गरेको प्रतिबद्धता तीन महिनाभित्र लागु नभए तपाईँहरूले कुर्सीबाट हटाइदिनुस् ।

 

उहाँले वडामा सबै युवालाई रोजगारीको अवसर दिने, वडामा रहेका विकास निर्माणलाई सबैले अपनत्व लिने गरी काम गर्ने, शिक्षा क्षेत्रको विकास गर्न सामुदायिक विद्यालयलाई नमुनाको विद्यालय बनाउने, रकम अभावको कारण अध्ययन गर्न नपाएका विद्यार्थीलाई विशेष छात्रवृत्ति दिन छात्रवृत्ति कोष स्थापना गर्ने, भौतिक मात्र नभै मानवीय विकासको सुरुवा गर्ने हरेक वडावासीलाई उत्पादनसँग जोड्ने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्न पहल गर्ने, वडामा रहेको नेपालकै नमुनाको अस्पताल नेपाल मेडिसिटिसँग स्वास्थ्य उपचार गर्न सहकार्य गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–तपाईँहरूले विजयी गरेपछि हामीले यो काम नगरे हामीलाई कुसीमा बस्न नदिनुस् । हामी तपाईँहरूको उम्मेदवार भएकोले तपाईँहरूको योजना अनुसार अघि बढ्नेछौ ।वडा अध्यक्षका उम्मेदवार खड्काले आफ्नो नेतृत्वमा टिम निर्वाचित भए अबको ५ वर्षभित्र यो वडालाई नमुनाको वडा बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एमाले बागमती प्रदेश सदस्य समेत रहनुभएका खड्काले आफुले चुनाव जितेमा महानगरपालिकामा वरिष्ठ सदस्यको रुपमा काम गर्ने अवसर पाउने घोषणा गर्दै त्यसो भए आफूले महानगरबाट समेत विकासका काम ल्याउन सक्ने दाबी गर्नुभयो ।कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य अमृत खड्काले युवालाई रोजगारसँग जोडेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि ललितपुर महानगरपालिका एमालेमय हुने अपेक्षा राख्दै त्यसको

लागि यो वडावासीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।उहाँले युवालाई रोजगार, महिलालाई सिप र सिर्जना, जेष्ठ नागरिकलाई सेवा सुविधा वृद्धि गरेपछि मात्रै वडाको विकास सम्भव हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा युवासंघ ललितपुरका अध्यक्ष चीन लामाले युवाले विकासको मूल फुटाउन सक्ने भन्दै त्यसको लागि एमालेका उम्मेदवार विजयी गर्न पुर्ण सहयोग गर्नुपर्ने बताउनुभयो । भन्नुभयो–हामी युवा दस्ता भाषण गर्ने होइन काम गर्ने हो , त्यसैले हामीले काम गरेर देखाउन सबै उम्मेवारलाई विजयी गराउनपर्छ ।

विकास नभएका क्षेत्रमा तत्काल विकास गर्न एमालेको विकल्प नभएको बताउँदै त्यसको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । एमाले वडा कमिटी अध्यक्ष गोपाल डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा वडाका महिला, युवा, जेष्ठ नागरिक लगायतका उपस्थिति रहेको थियो ।