प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने गठबन्धनकाे सहमति


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ ।

उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।