महानिरीक्षक केसीद्वारा सशस्त्र प्रहरी निरीक्षकलाई आधारभूत तालिम


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख ९ गते आयोजित एक समारोहकावीच पानसमा द्विप प्रज्वलन गरी उक्त तालिमको उद्घाटन गरेका थिए ।

 

 

 

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि बुझाउँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको चर्चा गर्दै तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे  ।

उनले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिए  ।

महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने बताए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानकोतर्फबाट मायाको चिनो समेत प्रदान गरे  ।

५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ३९ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए। समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।