विश्व स्वास्थ्य संगठनका प्रमुख र स्वास्थ्यमन्त्रीबीच भेटघाट

0
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससँग विहिवार भेटवार्ताका क्रममा नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले स्वास्थ्य सेवाहरुमा सबैको समतामूलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तिय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताउँनुभयो ।

मन्त्री खतिवडाले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० पनि तर्जुमाको चरणमा रहेको बताउँदै सरकारले संक्रामक र नसर्ने रोगहरुको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, हेरचाह, उन्मूलन र नियमनका लागि राष्ट्रिय स्तरमा एकीकृत संस्था स्थापना गर्ने योजना बनाएको र नेपालले मातृ तथा बाल मृत्यु न्युनिकरणमा प्राप्त गरेको उपलब्धी उल्लेखनीय भएको बताउँनुभयो ।

मन्त्री खतिवडाले स्वास्थ्य संकटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका लागि डब्लुएचओको भूमिका अझै सुदृढ बनाइराख्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जिन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकोमा डब्लुएचओप्रति आभार प्रकट गर्नुभयो ।

मन्त्री खतिवडाले विश्व व्यापी रुपमा कोभिड १९ को महामारी फैलिएको बेला डब्लुएचओले कोभिडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु गर्न मात्र नभै महामारी नियन्त्रणका लागि आवश्यक पर्ने प्राविधिक ज्ञानका साथै आवश्यक सहयोग गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउँनुभयो ।

मन्त्री खतिवडाले भेटघाटको अवसरलाई भरपुर सदुपयोग गर्दै औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि समेत अनुरोध गर्नुभयो ।