एसईईको प्रतिष्ठा



माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरु भएको छ । परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन तीनै तहका सुरक्षा संयत्र परिचालन गरिएको छ । परीक्षालाई विगत वर्षजस्तो हल्का रुपमा लिइने छैन भन्न भन्ने विश्वास यसको प्रतिष्ठा उच्च रहेको हेर्नचाहनेहरुको छ । पहिला एसएलसीलाई फलामको गेट भनिन्थ्यो, तर विगत वर्ष कोभिडका कारण यो कपासको गेटमा परिणत भयो ।

यस वर्षदेखि सुरक्षा लगायत परीक्षा सम्बन्धी सबै व्यवस्था प्रदेश सरकारले गरेको छ । परीक्षा सकेलगत्तै उत्तरपुस्तिका परीक्षण गर्नेसम्मको काम प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्नेछ । परीक्षामा २ हजार ७ परीक्षा केन्द्र कायम गरिएको छ । २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । परीक्षामा छात्राको संख्या बढी छ । परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् । प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हँुदैछन् । ११ हजार ६ सय १५ केन्द्रमा परीक्षा दिने व्यवस्था छ । प्रदेश स्तरकै परीक्षा भएपछि यसलाई थप महत्वपूर्ण परीक्षाको रुपमा हेरिएको छ । कोरोना संक्रमणको कारण विगत दुई वर्षदेखि भौतिक रुपमा हुन नसकेको एसईई परीक्षा यो वर्षबाट भौतिक रुपमै शुरु भएको छ । परीक्षामा सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा छन् । काठमाडौमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । ललितपुरमा ३ सय ३४ विद्यालयमा ३४ केन्द्र कायम गरिएको छ । ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी रहनेछन् । भक्तपुरमा १ सय ९५ विद्यालयमा २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षामा सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एकसाता अघि नै प्रश्नपत्र पुर्याइएको छ । कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थी सहभागी छन् । बिहान ८ बजेदेखि शुरु भएको परीक्षा ११ बजे सम्पन्न हुनेछ । परीक्षामा फरक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था छ । विद्यार्थीपनि केन्द्र पुगेर परीक्षा दिन पाउँदा हर्षित देखिएका छन् ।

यस पटक विगत दुई वर्ष अवस्थामा एसईई पुगेको छ । सुरक्षा सतर्कतातिर सबैको ध्यान तानिएको पनि देखिन्छ । सुरक्षाकर्मीले विद्यार्थीलाई खानतलासी गर्ने काम जायज नभएको विज्ञहरुको धारणा छ । परीक्षा हलमा पसेपछि निर्धक्क परीक्षा दिने वातावरण बनाउनु सबैको कर्तव्य हुनआउँछ तर सुरक्षाकर्मीको व्यवहारका कारण किशोर–किशोरीको मनस्थिति विचलित हुनपुग्यो भने त्यसको असर उनीहरुको लेखनमा समेत पर्नजान्छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिने व्यवस्था गर्नुपर्छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्