गणभित्र गोली लागेकी सैनिक सिपाहीको मृत्यु


न्युज अफ नेपाल, रूपन्देही ।

कपिलवस्तुस्थित शमशेरदल गणभित्र गोली लागि घाइते महिला सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । गण कार्यरत सिपाही कोपिला राजवंशी गोली लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

 प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।