संकटमा स्वास्थ्य बीमा



परीक्षणका रुपमा ६ वर्षअघि कैलाली जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७ सय ४५ स्थानीय निकायमा पुग्दा स्वास्थ्य सेवाको गुणस्तरीयता र विश्वसनीयता नै धराशयी बन्दैछ । केन्द्र, प्रदेश र स्थानीय सरकारको केन्द्रविन्दु जनस्वास्थ्य नभै बढी कमाऊ र देखाऊको क्षेत्र सडक, भवन, उपकरणजस्ता विषयमा मात्र लक्षित गरी बजेट पारित हुँदा नागरिक लक्षित स्वास्थ्य बीमा कार्यक्रम धराशयी बन्नलागेको हो ।

सरकारले निर्धारण गरेको स्वास्थ्य बीमा खरिद गरेका नागरिक यतिबेला अस्पतालले सेवा दिन नसक्ने भनेपछि समस्यामा परेका छन् । स्वास्थ्य बीमा खरिदका लागि विभिन्न पालिकाहरुले निर्धारण गरेका प्रायः अस्पतालले अहिले स्वास्थ्य बीमा गर्दा पाउने स्वास्थ्य सेवा, औषधि, अस्पताल भर्ना, चिकित्सकीय सेवा, परीक्षण सेवा दिन नसक्ने अवस्था आएको बताउँदैछन् ।

नेपालको संविधान, २०७२ मा स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो भनिएको छ । राष्ट्रिय बीमा बोर्डले ४ सय ४१ वटा निजी, सरकारी र सामुदायिक अस्पताललाई सूचीकृत गरेको छ सरकारले जनहितका लागि सञ्चालनमा ल्याएको भनिएको स्वास्थ्य बीमा कार्यक्रम बोर्डका कर्मचारी र अस्पतालले जुहारी खेल्दै कमाउने र नागरिकलाई दुःख दिने थलोका रुपमा विकास हुनथालेको जनगुनासो छ । धुलिखेल अस्पताल, धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाल्पा अस्पतालले पनि बीमा बोर्डले उपचार गरेका बिरामीको भुक्तानी समयमै नगर्दा बीमा सेवा अन्तर्गतको उपचार गर्न समस्या भएको बीमा बोर्डलाई पत्र नै काटेका छन् । अधिकांश स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुको कथा यहि छ ।

बीमाकै कारण धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको र अस्पतालको फार्मेसी विभागमा आधारभूत औषधि सकिएको समाचार सार्वजनिक भएकोछ । धुलिखेल अस्पतालले मात्र २०७८ चैत्र मसान्तसम्म २५ करोडभन्दा बढी रकम बीमा बोर्डबाट नपाएकै कारण अस्पतालले खरिद गरेको औषधिको भुक्तानी दिन नसक्दा औषधि आपूर्तिकर्ताले सुगर, प्रेसर, दम तथा अन्य रोगका औषधिहरू आपूर्ति गर्न छाडेको छ ।

सरकारले गत वर्ष देखिकै बीमा रकम अस्पताललाई भुक्तानी गर्न ढिलाइ गर्दैआएको हो । समस्याको नमुनाका रुपमा धुलिखेल अस्पताललाई लिंदा, त्यहाँ दैनिक १ हजारभन्दा बढी बिरामीले सेवा लिएको देखिन्छ । बीमा बापत २५ करोड, कोभिडको दोस्रो भेरियन्टमा उपचार गराए बापत ४ करोड ५३ लाख, तेस्रो चरणको २५ लाख रकम सरकारसँग लिन बाँकी रहेकोे समाचार सार्वजनिक भएको छ । काभ्रेपलान्चोक जिल्लामा २२ हजार ७ सय ९१ परिवारका १ लाख १५ हजार ९ सय ६३ जना विमित छन् । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका जिल्लाका समेत नागरिकहरू बीमाको सेवा लिन आउन बाध्य छन् ।

बीमाकै कारण बिरामीको चाप एकैठाउँमा केन्द्रित हुँदा एक्सरे, भिडियो–एक्सरे, एमआरआईजस्ता अत्यावश्यक सेवामा पनि महिनौं पालो कुर्नुपर्छ । बीमामा १ हजार ३ सय ३३ प्रकारका औषधी समावेश गरिएको छ । तर बिरामीले औषधि पाउँदैनन् । उपचार गर्नेबेलामा औषधि, छैन, बेड छैन, परीक्षणका लागि पालो कुर्नुपर्छजस्ता बहाना गर्ने दिगो माध्यम बनेको छ । सरकारले समयमै यस्ता गम्भीर विषयमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्