मेयर माग्दै पार्टी कार्यालयमा ताला ‘एस’को दाबीपछि हेटौंडामा गठबन्धन धर्मसंकटमा

0
Shares

हेटौंडा । 

पाँच दलीय गठबन्धनबाट हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालय मकवानपुरमा लगाएको ताला खोलिएको छ ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनील गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थितिमा खोलिएको हो ।गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबी गर्दै असन्तुष्ट युवा कार्यकर्ताले नाराबाजीसहित तालाबन्दी गरेका थिए । ताला खोल्ने क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो । ‘पार्टी कार्यालयमा ताला लगाउनु गम्भीर हो । ताला लगाउनेलाई पार्टीको विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ –उहाँले भन्नुभयो ।

‘उदण्ड र गुण्डागर्दी कांग्रेसलाई चाहिँदैन । कांग्रेस सभ्य पार्टी हो । कांग्रेस इतिहास हो । कांग्रेस नेपाली जनताको मुटुमा बसेको पार्टी हो । कांग्रेसमा यस्ता उदण्ड र अराजकलाई ठाउँ छैन । बस्नु पनि पर्दैन ।’ –सभापति लामाले भन्नुभयो । पार्टी कार्यालयमा तालाबन्दीपछि प्रहरी परिचालन भएको थियो ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले हेटौंडा उपमहानगर प्रमुखमा एक महिला र दुई पुरुषसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ ।

आइतबारको कांग्रेस हेटौंडा नगर कार्यसमिति बैठकले प्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । उपप्रमुखमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई (कार्की) को नाम सिफारिस गरिएको छ । नगर कार्यसमितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिलाई सिफारिस गरेको कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले बताउनुभयो । नगर प्रमुखमा सिफारिस पराजुली २०७४ को स्थानीय तह निर्वाचनअन्तर्गत हेटौंडा नगर प्रमुखमा एमालेसँग करिब ६ सयमात्र मतान्तरले पराजित हुनुभएको थियो ।

नगर कार्यसमिति बैठकले हेटौंडा उपमहानगर प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो ।तर, नेकपा (एकीकृत समाजवादी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा प्रमुखसहित ५ वटा वडा दाबी गरेको छ । सोमबार बैठकमा नेताहरुले गठबन्धनमा जाँदा प्रमुखसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवं हेटौंडा उपमेयर मीना लामाले बताउनुभयो । एकीकृत समाजवादीको दाबीका कारण गठबन्धन हेटौंडामा धर्मसंकटमा परेको छ ।

समाजवादीले मकवानपुरमा ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोल इन्चार्जहरुले ६ स्थानीय तहमा प्रमुख र अध्यक्ष पाउनुपर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गर्नुभयो । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, इन्द्रसरोवर र हेटौंडा उपमहानगरमा प्रमुख पाउनुपर्ने गरी गठबन्धनमा छलफल गर्न इन्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।

एक्लै उठ्न तयार

राक्सिराङ इन्चार्ज कृष्णबहादुर चेपाङ र मनहरी इन्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टीपंक्ति तयार रहेको बताउनुभएको छ । कैलाश इन्चार्ज कालु ढकाल र इन्द्रसरोवर इन्चार्ज कुन्साङ लामाले पनि अध्यक्षसहित केही वडामा सम्मानजनक हिसाबले गठबन्धन हुनुपर्ने माग गर्नुभयो ।

एमालेबाट सिफारिस

वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।बैठकमा सर्वसम्मतरूपमा मेयरका उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्रप्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

कुल मतदाता करिब ३ लाख

१० स्थानीय तह रहेको मकवानपुरमा कुल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना छन् । विगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसअनुसार इन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, वागमती गाउँपालिकामा २२ हजार ९०, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय ९०, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१, राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ७३ र हेटौंडा उपमहानगरमा १ लाख ४ हजार ४ सय ७३ रहेको निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय मतदाता थिए ।

एक सारिने, एक थपिने

स्थानीय तह निर्वाचनका लागि मकवानपुरको एक मतदानस्थल सारिने र एक थपिने भएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित वासुदेव सभागृहको मतदानस्थल सारेर हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माध्यमिक विद्यालयमा राखिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ ।
वासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माण भइरहेकाले मतदानस्थल सारिएको जनाइएको छ । मनहरी गाउँपालिकामा एक मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरी–६ मा मतदानस्थल थपिने बताइएको छ ।

मेयर एसलाई दिए कांग्रेसका एकल उम्मेदवार

हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिए एकल उम्मेदवार खडा गर्ने कांग्रेस हेटौंडा नगरले चेतावनी दिएको छ । हेटौंडाको मेयर नेकपा (एस) लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।स्थानीय तह निर्वाचनमा हेटौंडा मेयरको टिकट नेकपा (एस) लाई दिने निर्णय सच्याउन हेटौंडा नगर कार्यसमितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण गरेको छ ।

५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समिति र गठबन्धन नेतृत्व बैठकले गरेको सहमतिप्रति असहमति जनाउँदै निर्णय सच्याउन ध्यानाकर्षण गरिएको हो । पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबीच हेटौंडा उपमहानगर मेयरमा (एस) का तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ ।बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे नगरका १९ वटै वडाका सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत प्रतिस्पर्धाका आधारमा एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो ।

पार्टी नगर सभापति उत्सव इटेनीले सत्तारूढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल गरेको बताउनुभयो ।‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धाका आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ’, उहाँले भन्नुभयो– ‘गठबन्धन दलहरुबीच भागवण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिई कार्यकर्ताको मर्म र भावनाको बेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’

उहाँले मतभारलाई मध्यनजर नगरी कांग्रेसलाई नगर मेयरको टिकट नदिए गठबन्धनको निर्णय नमान्ने उद्घोष गर्नुभयो । इटेनीले निर्णय सच्चिनेमा आफू आशावादी रहेको बताउनुभयो । गत निर्वाचनमा कांग्रेस करिब ६ सयमात्रको मतान्तरले एमालेसँग पराजित भएको थियो । हेटौंडामा पछिल्लो समय कांग्रेसले चुनावमा राम्रो नतिजा ल्याउने विश्वास गरिएको छ । सत्तारूढ दलको सहमतिअनुसार हेटौंडा नगर प्रमुख नेकपा (एस) र उपप्रमुख कांग्रेसलाई दिने लगभग सहमति भइसकेको छ ।कांग्रेस कार्यकर्ताले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको निर्णयको विरोधमा मकवानपुरमा दबाबमूलक कार्यक्रम थालेका छन् । केन्द्रीय निर्णयको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।