जोगीपानी कुवा : पानी पिएपछि नबोल्ने बच्चाको बोली फुट्ने विश्वास


पाल्पा ।

आधुनिक प्रविधि र विज्ञानको युगमा मुक अर्थात् बोल्न नसक्नेहरूका लागि विभिन्न उपचार पद्दतिमार्फत चिकित्सकले बोली आउने गराउँछन् ।यससम्बन्धी समस्या भएकाले डक्टरकोमा उपचार गर्दछन् तर पाल्पामा एउटा यस्तो कुवा पनि छ जहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्नेहरूको बोली फुट्छ भन्ने विश्वास गरिन्छ ।

यो कुरा झट्ट सुन्दा आश्चर्यजनक त छ नै साथै अपत्यारिलो पनि तर अहिलेको यो युगमा पनि मानिसहरू यहाँस्थित कुवाको पानीमा त्यस्तो शक्ति भएको विश्वास गर्दछन् र पानी लिनका लागि टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् ।मानिसमा यस्तो विश्वास छ कि कुवाको पानी खाएपछि बोली नफुटेका बच्चाको बोली फुट्छ । यो विश्वास सयौं वर्षदेखि कायमै छ । पाल्पाको तानसेन सदरमुकाम तानसेनबाट करिब ७ किलोमिटर पर तानसेन तम्घास रोडस्थित तानसेन नगरपालिका– ११ बन्दिपोखराको जोगी कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने स्थानीय मान्यता रहेको हो ।

यही मान्यताका कारण विश्वास गर्नेहरूले कुवाको पानी पिलाउँदा पछि ढिलोसम्म बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने मान्यताका साथ पानी लैजाने गरेका हुन् । यस्तो विश्वासमा मानिसहरू आउने गरेको र विभिन्न भाँडोमा भरेर पानी लैजाने गरेको स्थानीयको भनाइ छ ।
स्थानीय कथनअनुसार परापूर्व कालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लाग्दा पानीको मुहान र र नजिक वरपर घरहरू समेत नदेखेपछि जोगीले हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए ।

उनै जोगीले आफूले त्यही पानीले प्यास मेटेको र अबदेखि यो पानी पिएमा वाक्य नखुलेका बच्चाहरू बोल्न सकुन् भनी आशिर्वाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ अगाडि बढेको स्थानीयहरूको भनाइ छ । सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरे र ठाउँको नाम पनि जोगीपानीका नामले प्रख्यात हुन पुग्यो ।

स्थानीय हेमकुमारी गहतराजका अनुसार नेपालका विभिन्न जिल्लाहरू तथा भारतबाट समेत माानिस आई पानी लाने गरेका छन् । उहाँले केही मानिसहरू कुवाको पानी पिएपछि बच्चाको वाक्य फुटेपछि पुनः आए । पूजासमेत गर्ने गरेको उहाँले बताउनुभयो ।करिब ८ वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि उक्त जाोगेपानीको पानी खुवाएपछि अहिले स्पष्ट बोल्न सक्ने भएको अर्का स्थानीय हिक्मत गहतराजको भनाइ छ । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उहाँले जानकारी दिनुभयो ।स्थानीयले यसरी चढाएको भेटीलाई व्यवस्थित गर्ने र मन्दिर बनाउन सकेको खण्डमा अझ महत्व बढ्दै जाने स्थानीयको भनाइ छ । यद्यपि, यो कुवा बाटोको छेवैमा रहेकोले यसको संरक्षण भने हुन सकेको देखिँदैन । स्थानीय भानुभक्त गहतराजले यहाँको पानीको आफ्नै महत्व रहेको र जोगीपानीको नामले नै ठाउँ प्रख्यात रहेको बताउनुभयो ।

तानसेन नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दामोदर प्रसाद घिमिरेले परापूर्व कालदेखि जोगीकुवाको निकै महत्व रहेको बताउँदै त्यही महत्व र विश्वासका कारण देश तथा विदेशबाट मानिसहरू पानी लिने आउने गरेको बताउनुभयो । उहाँले केही समय अगाडि पानी संरक्षण गर्नका लागि दुईवटा ट्यांकी निर्माण गरी माथिल्लो ट्यांकीमा पानी जम्मा गरेर तल्लो ट्यांकीमा झार्ने व्यवस्था गरिएको छ ।यो कुवामा दशैको पूर्णिमाको अवसरमा नजिकै रहेको लिपीन्देवी मन्दिरमा खेलिने सरायँ नाँचको फूलपातीसमेत विर्सजन गर्ने गरिएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यहाँको पानी अमृत बुटीसरह रहेको भए पनि प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।वडा कार्यालयले यस स्थानको संरक्षण गर्नका योजना अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ छ । कुवाको उचित संरक्षण र संवर्धन गरी प्रचार प्रसार गर्न जरुरी रहेको स्थानीय अशोक घिमिरेको भनाइ छ ।