मेयरका आकांक्षी नै धेरै


अमृत अर्याल, स्याङ्जा ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि एउटै पार्टीबाट प्रमुख पदमा मात्र सय बढी आकांक्षी देखिएका छन् । बढी आकांक्षी देखिनेमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार छन् । एकाघरका श्रीमान् श्रीमतीदेखि लिएर दाजुभाइले समेत प्रमुख पदमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।

९७ वटा वडा रहेको स्याङ्जामा एमालेबाट करिब ५० प्रतिशत वडाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन भइसकेको नेकपा एमाले स्याङ्जाका अध्यक्ष पारस गैह्रेले बताउनुभयो । हरिनास गाउँपालिकामा अध्यक्षसहित सबै वडामा सर्वसम्मत उम्मेदवार चयन गरिएको र उपाध्यक्षका लागि छलफल भइरहेको पारसले जानकारी दिनुभयो ।

एमालेको केन्द्रको निर्णयअनुसार सहमति नभएका वडाबाट जिल्ला कमिटीमा तीन जनाको नाम सिफारिस आउने र जिल्ला कमिटीले टुंगो लगाउने छ । पालिकाको हकमा पालिकाको रायमा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउनेछ ।
यता, नेपाली कांग्रेसले करिब १५ देखि २० वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । कांग्रेसको केन्द्रको निर्णयअनुसार सहमति जुट्न नसकेका वडाको सिफारिसमा क्षेत्रीय संसदीय बोर्ड, गाउँपालिकाको हकमा जिल्ला संसदीय बोर्ड र नगरपालिकाको हकमा प्रदेश संसदीय बोर्डले अन्तिम टुंगो लगाउनेछ ।

जिल्लाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले आकांक्षा देखाउनुभएको छ । उनीहरू दुवैजना श्रीमान् श्रीमती हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्याङ्जा क्षेत्र नं २ बाट महेन्द्र श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । त्यसै गरी उहाँकी श्रीमती उमा श्रेष्ठ गल्याङ उद्योग वाणिज्य संघको सचिव भएर काम गरिरहनुभएको छ । गल्याङ नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्न झण्डै एक दर्जन र उपमेयर बन्न ४ जनाले आकांक्षा देखाउनुभएको गल्याङ कांग्रेसले बताएको छ ।

गल्याङ नगरपालिकाको मेयरमा नेकपा एमालेबाट जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) एकल उम्मेदवारको रूपमा टुंगो लागेको एमालेले जनाएको छ । एमालेबाट मेयरमा टिकटको टुंगो लागिसक्दा कांग्रेसलाई भने १ दर्जन उम्मेदवारहरूबाट १ जना छनोट गर्न फलामको चिउरा भएको छ ।मेयरको उम्मेदवार बन्नको लागि श्याम प्रसाद बस्याल, महेन्द्र श्रेष्ठ, गुरूप्रसाद भट्टराई, महेश भट्टराई, धुव्र शर्मा पंगेनी, लाल गोपाल अर्याल, भेक प्रसाद श्रेष्ठ, हरीलाल खनाल, बुद्धिसागर भण्डारी, श्यामप्रसाद भण्डारी र एस बी खड्का (सुनिल) ले आकांक्षा देखाउनुभएको गल्याङ कांग्रेसले जनाएको छ ।

बुद्धिसागर भण्डारी र श्याम भण्डारी दाजुभाई हुन् । गल्याङ नगरपालिकामा यसअघि नेकपा एमालेबाट भुपराज अधिकारीले मेयरमा जित्नुभएको थियो । त्यसैगरी उपमेयरमा खगीसरा भण्डारी, उमा श्रेष्ठ, हेमा न्यौपाने र विष्णु खनालले आकांक्षा देखाउनुभएको छ । गल्याङ कांग्रेसले अझै पनि सर्वसम्मत उम्मेदवारको प्रयास भइरहेको जनाएको छ ।