अमेरिकी विधायक नेपाल आउँदै



वासिङ्टन डिसी  ।

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीन दिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिस्टन गिलब्रान्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल भोलि शुक्रबार नेपाल आउन लागेको हो ।

शुक्रबार काठमाडाैं आइपुग्ने प्रतिनिधि मण्डलका सदस्यहरू आगामी आइतबारसम्म नेपालमा रहने भएका छन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरूले अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ ।नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेस प्रतिनिधि मण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

सिनेटर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, संयुक्त अरब इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ ।यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार युक्रेनमाथि रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्