प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित


काठमाडौं ।

नेकपा (एमाले)को जनसंगठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीलाई परिचालन गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई–दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो । चैत १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता, कार्यकर्तालाई भर्चुअलरूपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको सुझावका आधारमा घोषणापत्र तयार गरिएको छ ।