फोहोरमा फोहोरी खेल स्थानीयबासीको तीनदिने अल्टिमेटम


काठमाडौं ।

ठेकेदारले बाटो नबनाएपछि स्थानीयले फेरि फोहोर व्यवस्थापन ठप्प पार्ने भएका छन् । त्यसका लागि हिजो बुधबार मुड्कु–तीनपिप्लेका स्थानीयले सरकारलाई ३ दिने अल्टिमेटम दिएका छन् ।

स्थानीयबासीकोे बुधबार बसेको बैठकले सो अल्टिमेटम दिएको हो । स्थानीय भवनाथ गजुरेलको अध्यक्षतमा गठित संघर्ष समितिले सडक विभाग, वडा कार्यालय र काठमाडौं महानगरपालिकाका मुख्यालय र तारकेश्वर नगरपालिकामा अल्टिमेटम पत्र पठाएको छ । उनीहरूले सडक कालोपत्रे गर्न शुरू नगरे आइतबारबाट फोहोर व्यवस्थापन ठप्प पार्ने चेतावनी दिएका हुन् ।

संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले समाचारपत्रसँग बोल्दै अब पूर्ण रूपमा बाटो पिच नगरेसम्म सधैंका लागि बाटो बन्द गर्ने चेतावानी दिनुभयो । उहाँले भन्नुभयो– ‘अति नै भयो, अब बाटो पिच नगरेसम्म फोहोरको मात्र नभई सबै सवारीसाधन पूर्ण रूपमा ठप्प पार्नेछौं ।’

उहाँका अनुसार चैत २९ गतेसम्म काम भएको भए तापनि अहिले काम रोकिएको छ । ठेकेदारको कुनै अत्तोपत्तो नभएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘हामी तीन दिनसम्म बाटो हेर्नेछांै, त्यतिन्जेलसम्म पनि काम शुरू नभए सधैंका लागि सबै सवारी बाटो बन्द गर्नेछौं ।’

कामपाले भने माग सम्बोधन गर्ने विषयमा काम भइरहेको बताएको छ । सरकारले निषेध गरेको अत्यावश्यक सेवाअन्तर्गत फोहोर व्यवथापन कार्यमा बन्द, हड्ताल गर्नु अपराध हो तर ठेकेदारले प्रतिबद्धताअनुरूप सडक कालोपत्रे नगरेको कारण स्थानीयबासी अन्यायमा परेका छन् ।

प्रचण्डका घरबेटी सारदा अधिकारीको शैैलुङ कन्ट्रसनले ठेक्का लिएको ८ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । उनीहरू भन्छन्–‘९ वर्षसम्म पनि काम गर्न नसकेको कम्पनीलाई महानगरपालिकाले जोगाइरकेको छ ।’

उपत्यकालगायत १८ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने स्वायत्त निकाय नहुँदा झन् समस्या पर्न थालेको छ । फोहोरको समस्या भयो कि काठमाडांै महानगरपालिकालाई मात्र दोष दिने गरेको कामपाको गुनासो छ । यसअघि ठेकेदारले एक महिनाभित्र बाटो कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो । पटकपटक प्रतिबद्धता जनाए पनि काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेपछि स्थानीय आन्दोलित भएका हुन् ।