महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा लिखित सहमति

एकीकृत समाजवादी र माओवादीलाई बराबर सिट


काठमाडौं ।

सत्तारूढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागबण्डामा लिखित सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको नगर प्रमुख र उपप्रमुख पदमा लिखित सहमति भएको हो । सहमतिअुनसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको नगरप्रमुख तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पद लिनेछ ।
त्यसै गरी नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिकाको नगर प्रमुख र ललितपुरको उपप्रमुख, नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको नगर प्रमुख र काठमाडौं महानगरपालिकाको उप्रमुख भाग लगाइएको छ । जनता समाजवादी पार्टीलाई वीरगन्जको नगरप्रमुख र विराटनगरको उपप्रमुख दिने सहमति भएको छ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीको नगर प्रमुख लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उप्रमुख लिने सहमति भएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नगर प्रमुख पाएको छ भने धरान र धनगढीको उपप्रमुख पाएको छ ।

त्यसै गरी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुरको उपप्रमुखमा उम्मेदवारी दिनेछ । त्यसै गरी जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नगर प्रमुख तथा कलैया र नेपालगन्जको उप्रमुख लिने सहमति भएको छ । सत्ता गठबन्धनले आ–आफ्नो पुरानो अडान छोड्दै महानगरपालिका र उपमहानगरपालिकामा सहमति जुटाएको हो ।सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सहमति जुटेसँगै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र भने विवाद चुलिएको छ । चितवनको भरतपुर र पोखरा महानगरपालिकामा आफ्नो पार्टीले नगर प्रमुख नपाएको भन्दै कांग्रेसभित्र विवाद बढेको हो ।

सत्ता गठबन्धनमा भएको सिट बाँडफाँटमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई बराबर सिट बाँडफाँट गरिएको छ । नेकपा एमालेबाट विभाजित एकीकृत समाजवादीलाई एक महानगरपालिकाको नेतृत्व दिइएको छ । समाजवादीले पोखरा महानगरपालिकाको नगर प्रमुखमा र काठमाडौंमा उपप्रमुखमा उमेदवारी दिने भएको छ । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पनि एकीकृत समाजवादीले गर्ने भएको छ । इटहरी, बुटवल र तुलसीपुरमा उपमहानगरमा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व पाएको छ भने ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । दुईवटा उमहानगरको नेतृत्व माओवादीले पाएको छ भने दुईवटा नै उपप्रमुख पाएको छ । जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा माओवादीले प्रमुख पदमा उमेदवारी दिनेछ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखका लागि उम्मेदवारी दिनेछ ।सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।