एसईई परीक्षा शुक्रबारबाट शुरू

छात्रभन्दा छात्राको संख्या बढी

0
Shares

काठमाडौं । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ भोली शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।

एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिनुभएको छ । सबैभन्दा बढी काठमाडांैमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

जसमा सबैभन्दा बढी ३६ हजार विद्यार्थीले परीक्षा दिनेछन् । त्यसै गरी ३ सय ३४ विद्यालय रहेको ललितपुरमा ३४ केन्द्र कायम गरिएको छ । ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी छन् । भक्तपुरमा १ सय ९५ विद्यालयको २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् ।परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा एक साता पहिले नै प्रश्नपत्र पु¥याइएको पनिकाले जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् । कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् ।
परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ । तर, फरक शारीरिक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था गरिएको छ ।

परीक्षामा प्राविधिक धारका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा अनुगमन, व्यवस्थापनदेखि उत्तरपुस्तिका परीक्षण गर्नेसम्मको जिम्मा प्रदेश सरकारलाई दिएको कारण केन्द्रलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एसईईको सबै जिम्मा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले लिएका कारण बोर्डलाई त्यति समस्या छैन ।’

पनिकाका परीक्षा नियन्त्रणक रायमाझीले बोर्डले प्रदेशबाट परीक्षाफल प्रकाशित गर्ने जनाए तापनि केन्द्रबाट परीक्षा सञ्चालन गर्दा समस्या देखिएको बताउनुभयो । उहाँले परीक्षालाई एकरूपता कायम गर्न यो वर्ष बोर्डबाटै परीक्षाफल प्रकाशित गरिने बताउनुभयो । बोर्डले सबै अधिकार प्रदेशलाई सुम्पदा केही वर्ष समस्या आउनसक्ने भन्दै व्यवस्थित नहुन्जेलसम्म केन्द्रबाटै परीक्षाफल प्रकाशित गर्ने परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।

परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सबैको सहयोग अपरिहार्य रहेको जिकिर गर्दै उहाँले परीक्षामा केन्द्र कायम गर्दा विद्यार्थीलाई धेरै हिड्न नपर्नेगरी नजिकैको विद्यालमा व्यवस्थापन गरिने जानकारी पनि दिनुभयो ।यो वर्ष एसईई परीक्षाका लागि ६१ विषयका करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ ।

जापानबाट १९ र नेपालमा ५ विदेशी परीक्षार्थी
बोर्डका अनुसार एसईई परीक्षामा जापानमा सञ्चालित एभरेस्ट स्कुलबाट १९ जना विद्यार्थीले परीक्षा दिँदैछन् । त्यसै गरी यो वर्षको एसईई परीक्षामा नेपालमा अध्ययनरत् ५ जना विदेशी विद्यार्थी पनि सहभागी हुँदैछन् ।