डोटीमा दलका नेता गाउँ–गाउँमा


विमल विष्ट, डोटी  । 

डोटीमा पछिल्लो समय राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले यहाँका प्रमुख दलका नेता तथा कार्यकर्ताहरु गाउँ–गाउँमा पुग्न थालेका हुन् ।

चुनावको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादीलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएको स्थानीयवासी बताउँछन् । पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँ–गाउँमा पुगेर चुनावी आमसभा गर्न थालेपछि अहिले यहाँका गाउँघरमा चुनावी रौनक छाएको जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिले गाउँघर सुनसान थिए, अहिले नेताहरु आएर कार्यक्रम गर्न थालेपछि रमाइलो हुन थालेको छ ।’ यहाँका नौवटै स्थानीय तहका विभिन्न बस्तीमा राजनैतिक दलका नेता कार्यकर्ताले बस्ती भेटघाट र पार्टी प्रवेशलाई तीव्रता दिएको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताउनुभयो । कार्यकर्ता र मतदातासमक्ष पुगेर नेताहरुले आफ्ना प्रशिक्षण दिन थालेका छन् । गाउँमा दलहरुले कार्यकर्ता भेटघाटसँगै अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रम जारी राखेको बताइएको छ ।

लामो समयको अन्तरालमा नेता तथा कार्यकर्ता गाउँमा आउन थालेपछि गाउँमा रोजगारी, खानेपानी, सिँचाइ, बाटोलगायतका विकास निर्माणको काम गर्नका लागि स्थानीयले माग गरिरहेको केआइसिंह गाउँपालिकाका जगत्बहादुर बलायरले बताउनुभयो ।‘ठूला दलका ठूला नेताहरु गाउँमा पसेका छन्, जनताले पनि यही हो मौका भन्दै गाउँमा विकासका मागहरु गर्न थालेका छन्’, उहाँले भन्नुभयो– ‘जसले माग पुरा गर्छ उसैलाई भोट दिन्छौं ।’डोटीमा १ लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिनुभयो ।