गठबन्धनमा भागवण्डा मिलेन, एमालेलाई झनै सकस

0
Shares

इलाम ।

इलाममा यतिखेर चुनावी माहोल निकै तातेको छ । चिया पसलदेखि गाउँ÷टोलसम्म चुनावी चर्चा चलिरहे पनि दलहरुले उम्मेदवार टुंगो लगाउन ढिलाइ गरिरहेका छन् ।

देशको राजनीतिमा अग्र मोर्चामा रहेका तीन हेभिवेट नेता (नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र नेपाली कांग्रेसका केबी गुरुङ) को जिल्ला इलाममा स्थानीय तहको निर्वाचन नजिकिँदा पनि उम्मेदवार टुंगो लगाउन दलहरुलाई सकस परिरहेको छ ।

स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचन नजिकिँदै गर्दा यहाँका प्रमुख राजनैतिक दलहरु उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा जुटेका छन् । जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरु भागवण्डामै अल्मलिरहेका छन् । उम्मेदवार टुंगो लगाउने निश्चित भएको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच इलाममा चुनावी तालमेल गरेर जाने सहमति भएको थियो ।

तर, यी दलहरुबीच भागवण्डा नमिल्दा साझा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । यद्यपि अझै पनि गठबन्धन दलका नेताबीच वार्ता र छलफल भने जारी रहेको कांग्रेस इलामका उपसभापति खगेन्द्र देवानले बताउनुभयो । पालिका भागवण्डामा नेकपा माओवादीको दाबी बढी परेको भन्दै कांग्रेसले यसमा असहमति जनाउँदै आएको छ । गठबन्धनकै अर्को दल नेकपा (एस)ले भने एक÷एकवटा नगरपालिका र गाउँपालिका पाउने गठबन्धन दलभित्र सहमति भएको थियो । तर, माओवादीसँग भागवण्डा मिल्न नसक्दा गठबन्धन कायम रहने÷नरहने भने अन्योल बढेको छ । नेकपा माओवादी केन्द्रका प्रभाष शर्माले माओवादीले एक नगरपालिका र दुई गाउँपालिकासहित ३० वटा वडा माग गरेको बताउनुभयो ।

जिल्लामा चार नगरपालिका र ६ गाउँपालिकासहित १० वटा स्थानीय तह छ भने ८१ वटा वडा रहेको छ । दशैवटा पालिकामा नेकपा एमालेलाई पनि उम्मेदवार छनोटमा सकस परेको छ । दुई नगरपालिका (सूर्योदय र देउमाई) एवं एउटा गाउँपालिका (रोङ) मा प्रमुख÷उपप्रमुखसहित वडाध्यक्षदेखि वडा सदस्यसम्मको उम्मेदवार छनोट गरिसकेको छ । बाँकी पालिका र वडाको उम्मेदवार टुंगो लगाउन पार्टीले कसरत गरिरहेको र सोमबारसम्म उम्मेदवार टुंगो लगाइसक्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताउनुभयो ।यसै क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि इलाममा चुनवमा भाग लिने भएको छ । वैशाख ८ गते जिल्लाको दशै पालिकामा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने नेकपाका जिल्ला सचिव जितमान राई ‘मौसम’ ले बताउनुभयो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा एउटा पालिकामा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्षसहित दुई पालिकामा अध्यक्ष मात्र जितेको थियो । बाँकी पालिकामध्ये एक पालिकामा उपाध्यक्ष गुमाएको थियो भने अन्य पालिकामा प्रमुख उपप्रमुख पद एमालेले जितेको थियो । यसरी २०७४ सालको निर्वाचनलाई हेर्दा जिल्लामा नेकपा एमाले बलियो देखिन्छ । तर, एमाले विभाजन भएपछि एमालेलाई यसको असर परेको छ । यदि यसपटकको निर्वाचनमा इलामका सबै पालिकामा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भए नेकपा एमालेलाई निर्वाचन जित्न निकै गाह्रो हुने देखिएको छ ।तर, एमालेले ५० प्रतिशत पालिका एमालेले जित्ने दाबी गर्दै आएको छ । जिल्लामा १७ दलले निर्वाचनमा भाग लिँदै छन् ।