मेयर माग्दै पार्टी कार्यालयमा ताला एसको दाबीपछि हेटौंडामा गठबन्धन धर्मसंकटमा


हेटौंडा ।

पाँच दलीय गठबन्धनबाट हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताले पार्टी मकवानपुर जिल्ला कार्यालयमा लगाएको ताला खोलिएको छ ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थिति खोलिएको हो ।गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबी गर्दै असन्तुष्ट युवा कार्यकर्ताले नाराबाजीसहित तालाबन्दी गरेका थिए ।

ताला खोल्ने क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो । ‘पार्टी कार्यालयमा ताला लगाउनु गम्भीर अपराध हो । ताला लगाउनेलाई पार्टीको विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ’ – उहाँले भन्नुभयो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले हेटौंडा उपमहानगर प्रमुखमा एक महिला र दुई पुरुषसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ ।

आइतबारको कांग्रेस हेटौंडा नगर कार्यसमिति बैठकले प्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । उपप्रमुखमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई (कार्की) को नाम सिफारिस गरिएको छ । नगर कार्यसमितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिलाई सिफारिस गरेको कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले बताउनुभयो ।

नगर प्रमुखमा सिफारिस पराजुली २०७४ को स्थानीय तह निर्वाचनअन्तर्गत हेटौंडा नगर प्रमुखमा एमालेसँग करिब ६ सयमात्र मतान्तरले पराजित हुनुभएको थियो । नगर कार्यसमिति बैठकले हेटौंडा उपमहानगर प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो ।तर, नेकपा (एकीकृत समाजवादी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा प्रमुखसहित ५ वटा वडा दाबी गरेको छ । सोमबार बैठकमा नेताहरूले गठबन्धनमा जाँदा प्रमुखसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौंडा उपमेयर मीना लामाले बताउनुभयो । एकीकृत समाजवादीको दाबीका कारण गठबन्धन हेटौंडामा धर्मसंकटमा परेको छ ।

एमालेबाट सिफारिस

वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।

बैठकमा सर्वसम्मत रूपमा मेयरका उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्रप्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय भएको छ ।