गठबन्धनमा भागबण्डा मिलाउन सकस



मिला दरै, तनहुँ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ दलबीच सिटको भागबण्डाको रस्साकस्सी चलेको छ । गठबन्धन टुट्न नदिने गरी भागबण्डा मिलाएर अगाडि बढ्न मुस्किल देखिएको छ ।

तनहुँमा गठबन्धन दलहरू बीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा तनहुँमा सकस परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच पालिकाको भागबण्डा नमिल्दा सकस परेको हो ।गठबन्धनको बैठक मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालयमा बसे पनि कुरा नमिलेपछि निष्कर्षविहिन भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । ‘सोमाबार बसेको बैठक निष्कर्षविहिन भएको थियो, मंगलबारको बैठक पनि निष्कर्षविहिन भएको छ, छलफल र बैठकलाई निरन्तरता दिने सहमति भएको छ’ – खनालले भन्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले माग गरेअनुसारका पालिका दिन नसकिने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले आफूले जितेका पालिकाको नेतृत्व आफैसँग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने जनाएको छ । नेकपा माओवादी केन्द्रले बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकीको प्रमुख माग गरेको छ भने ऋषिङ, देवघाट गाउँपालिकाको प्रमुख तथा भानु र भीमाद नगरपालिकाको उपप्रमुख माग गरेको छ ।

यसै गरी नेकपा एकीकृत समाजवादीले भीमाद, शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख, ऋषिङ, देवघाट गाउँपालिका तथा व्यास नगरपालिकामा उपप्रमुख माग गरेको छ । जनता समाजवादी पार्टीले देवघाट गाउँपालिकाको अध्यक्षका साथै सबै पालिकाको वडाध्यक्षको माग राखेको छ । बैठकमा कांग्रेसले बन्दीपुर, देवघाट गाउँपालिका तथा भीमाद नगरपालिकामा आफू दोस्रो भएको कुरा प्रस्तुत गरेको थियो ।
कांग्रेसले स्वतह जित्ने पालिकामा समाजवादी र माओवादीले माग गरेपछि भागबण्डा नमिलेको बताइएको छ । उनीहरूको भोट नै नभएको स्थानमा हामीले उनीहरूलाई जिम्मा लगाउन सक्ने अवस्था नहुँदा सकस देखिएको कांग्रेसका एक नेताले बताउनुभयो ।धेरै स्थानमा कांग्रेसका कार्यकर्ताहरूले गठबन्धन नगर्नसमेत अनुरोध गरिरहेको अवस्था छ । सोमबार पार्टी कार्यालयमा आएर बन्दीपुर क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ताले गठबन्धन नगर्न मागसमेत जिल्ला कार्य समितिसमक्ष अनुरोध गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख र उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख र उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्