साग स्वर्ण विजेता मिनु क्वार्टरफाइनलमा


 काठमाडौं  । 

नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५१ केजीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् ।

त्यसै स्पर्धामा एपीएफकी सञ्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराइन् । सञ्जु पनि क्वार्टरफाइनलमा पुगिन् । महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सञ्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँ क्वार्टरफाइनलमा पुगे ।वसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

पुरुष ६३ केजीमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोबिन प्रधानको चुनौती पन्छाए । पुरुष ६९ केजीमा एपीएफका विक्रम चौधरीले मधेसका सचिन शाक्य तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनील विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा १३औं सागका स्वर्णधारी मिनुसहित भूपेन्द्र थापा मगर र सुनील शाहीलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरूलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत १–१ लाख नगद पुरस्कार प्रदान गरे ।