महानगरपालिकामा सहमति, स्थानीय तहमा विमति

0
Shares

काठमाडौं ।

सत्ता गठबन्धनबीच ६ वटै महानगरपालिकामा भागबण्डामा सहमति भएको छ । कांग्रेस पोखरा महानगरको दाबीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुंगो लागेको छ । ६ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व गर्न पाउने भएको छ । त्यसै गरी माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएको छ ।

सत्ता गठबन्धनको बीचमा पाँचवटा महानगरपालिकामा सहमति जुटे पनि कांग्रेस र समाजवादीले दाबी गरेको कारण पोखरा महानगरपालिकामा कुरा मिल्न सकेको थिएन । पोखरा महानगरपालिका आफूले नपाए गठबन्धन नै छोड्ने एकीकृत समाजवादीको चेतावनीसँगै कांग्रेसले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई छोडेको हो ।

महानगरपालिकाको नेतृत्वको बारेमा सत्ता गठबन्धनको बीचमा सहमति भएको माओवादी केन्द्रका नेता देव गुरुङले मंगलबार नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘गठबन्धनको बीचमा सहमति भएको छ, अब उपमहानगरपालिकामा पनि सिट बाँडफाँट चाँडै टुंगो लगाउँछौं ।’

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखराका कांग्रेसका नेताहरूलाई काठमाडौं बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको जानकारी गराउनुभएको थियो ।केन्द्रबाट महानगरपालिकामा सिट बाँडफाँट भएपछि स्थानीय तहमा भने नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिँदै गएको छ । कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतको समूहले गठबन्धनको विपक्षमा आवाज उठाउँदै आएको छ ।

तर, सभापति देउवा सत्ता गठबन्धनलाई बचाएर लैजाने नीतिअनुरूप गठबन्धन गरेर जाने नीतिमा अडिक देखिनुभएको छ ।महानगरपालिकामा सहमति जुटाएको गठबन्धनले ११ वटा उपमहानरपालिकामा पनि सिट बाँडफाँटको गृहकार्य अघि बढाएको छ । कांग्रेसले ६ वटा उपमहानगरपालिकामा दाबी गर्दै आएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि ती-तीन वटा उपमहानगरपालिकामा आफूहरूले पाउने पर्ने दाबी गर्दै आएको छ ।केन्द्रमा महानगरपालिकामा सहमति भएको छ । तर स्थानीय तहमा भने सत्ता गठबन्धनबीच विमति बढ्दै जाँदा अधिकांश जिल्लामा गठबन्धन बन्न सकेको छैन ।