महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन

भरतपुर महानगरपालिकामा प्रतिष्ठाको लडाइँ शुरू

0
Shares

काठमाडौं ।

सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ । स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे छलफल शुरू भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो । गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ । बैठकमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको दाबी र जितको आधार पेस गर्नुभएको थियो ।

एकीकृत समाजवादीले इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका प्रमुखमा दाबी प्रस्तुत गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा सिट बाँडफाँटमा छलफल तीव्र बनेको छ । सरकार प्रवक्ता एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाइने बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चयन र उनीहरूलाई कसरी जिताउने भन्नेबारे छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘स्थानीय तहमा खडा गरेका उम्मेदवारलाई कसरी चयन गर्ने र निर्वाचित गर्ने भन्नेबारे छलफल भइरहेको छ, छलफल अरू एक दिन बढी चल्नसक्छ ।’कार्यदलका सदस्य एव माओवादीका नेता वर्षमान पुनले बैठकमा सबै दलका तर्फबाट रिपोर्टिङ, आ–आफ्ना आधार र दाबी पेस भए पनि थप निर्णय हुन बाँकी रहेको र छलफलमै क्रममा रहेको बताउनुभयो ।सिट बाँडफाँट गर्ने विषयमा गठबन्धनबाट गठित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले आन्तरिक गृहकार्यसँगै शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेको छ । पाँच दलमा ६ महानगरमध्ये कांग्रेसले ३, माओवादी, एकीकृत समाजवादी र जसपाले एक÷एक महानगरमा भागबण्डा गर्ने र सोहीअनुसार उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

तर, उपमहानगरमा भने दलहरूका आ–आफ्नै अडानले गर्दा कुन दलले कुन उपमहानगर लिने भन्नेमा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।यसैबीच चितवनको भरतपुर महानगरपालिकामा भने कांग्रेस र माओवादीको प्रतिष्ठाको लडाइँ शुरू भएको छ । माओवादीलाई भरतपुर महानगरपालिका छोड्न केन्द्रमा कांग्रेस सहमत भए पनि भरतपुरमा कांग्रेसकै नेता कार्यकर्ता माओवादीलाई दिन नहुने पक्षमा उभिएका छन् । केन्द्रमा भागबण्डा हुने पक्कापक्की भए पनि भरतपुर महानगरपालिकाभित्र कांग्रेसमा देखिएको असन्तुष्टि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि टाउको दुुखाइको विषय बन्न पुगेको छ ।