प्रधान सेनापतिद्वारा निर्वाचनमा सेना परिचालन सम्बन्धी विभागीय प्रमुखलाई निर्देशन



काठमाडौं ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरूलाई निर्वाचन लक्षित सुरक्षामाका लागि निर्देशन दिनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारीहरू उचित ढङ्गले वहन तथा कार्यान्वयन गर्नका लागि आइतबार प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा चार वटै कमान्डका कमान्ड सेनापतिहरूलाई विशेष निर्देशन दिनु भएको हो ।

आ-आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने,  जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग असरदार रूपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने निर्देशन उहाँले दिनुभएको छ ।

त्यस्तै नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेबारेमा पनि निर्देशन दिनुभएको बताइएको छ । सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरूलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्