स्थानीय चुनावका ‘मायावी’ घोषणापत्र



‘मायावी’ शब्द आफैँमारहस्यमयी छ । मायावी संस्कृतको विशेषण शब्द हो । नेपाली बृहत् शब्दकोश अनुसार यसका पाँचथरी अर्थ लाग्छन् । पहिलो अर्थमा मायाका रूपमा रहने वा हुने, मायासम्बन्धी, दोस्रोमा ठूलो कपटी वा धोकेबाज, तेस्रोमा अवास्तविक, भ्रामक, चौथोमा इन्द्रजाली, जादुगरी र पाँचौंमा चतुर र धूर्त अर्थ राख्दछ ।

माथि शीर्षकका हकमा भने दोस्रो अर्थ (ठूलो कपटी वा धोकेबाज) आकर्षित भएको छ–त्यो स्थानीय चुनावी माहोलमा । चुनावमा पाँच–पाँच वर्षमा जनता भगवान् र नेता सेवक बनेर एक महिनाजति सबै पार्टीनेता या स्वतन्त्र उम्मेदवारहरूले जनताका घरदैलो, खेत, खलियान, गोठ र आँगनमा पुगेर कल, बल र छल ती तीनवटै शक्ति प्रयोग गरी जनतालाई खुशी बनाउँछन् । जनताले फेरि पाँच वर्षका लागि हातै काटेर भोट दिन्छन्अनि नेता पाँच वर्षलाई जङ्गलका राजा सिंहझैँ हुन्छन् ।

यो कुरा नेपालमा कहिल्यै फेरबदल भएन । कसैले न नेतालाई प्रश्न ग-यो, न पार्टीलाई -याख-याख्ती पार्ने काम ? त्यसैले नेता र पार्टी दुवै जनताका तुलनामाआफूलाई भगवान् मान्छन् । यो भगवान् मनाइले पार्टीका कार्यकर्तालाई नेताले हनुमान बनाएर गर्न हुने÷नहुने सबै काम गराएका छन् ।सुकुम्बासी सङ्घर्ष समिति देवचुली नगरपालिका वडा नंं.४ र ५ का जनताले ‘सुकुम्बासीहरूलाई जबसम्म लालपुर्जा दिइँदैन तबसम्म कुनै पनि राजनीतिक दल देवचुली नपा ४ र ५ मा प्रवेश गर्न नपाइने’ तथा ‘चुनावी प्रचारप्रसार गर्न रोक लगाएको’ भनेर जुलुस निकाले ।जनता यसरी सडकमा निस्कनु भनेको दिक्कवाक्क लाग्ने स्थिति हो । उनीहरूले ‘नो भोट अभियान’ भनेर नारासहित दिनहुँ धर्ना बस्ने गरेका छन् ।
जनता हातहातै डेलिभरी चाहन्छन् तर नेता उधारोमा डिल गर्न खोज्छन् । यहीँ कुरा मिलिरहेको छैन । संसारमा जहीँ–कहीँ सत्तापक्षविरुद्धमा प्रतिपक्षीहरू एकजुट हुन्छन् र गठबन्धन गर्छन् तर नेपालमा अचम्म छ । यहाँ प्रतिपक्षका डरले सत्तापक्षले उल्टो गठबन्धन गरेका छन् । यस्तो हाँस उठ्दो स्थिति देखापरेपछि आम मतदाता, कार्यकर्ता र नेताहरू नै रनभुल्लमा परेका छन् ।सत्तापक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच पाँचदलीय चुनावी गठबन्धन भएपछि प्रतिपक्षी नेकपा एमालेले पनि राप्रापा नेपाल र परिवार दलसँग चुनावी गठजोड गरेर सूर्य चिन्हबाटै चुनाव लड्न ती पार्टीहरूलाई मनायो । यो भनेको एक हिसाबले ती पार्टीहरू एमालेमै समाहित भई चुनाव लड्नका राजी भएको स्थिति हो । विगतमा पनि एमालेको सूर्य चिन्हबाट आफूलाई स्वतन्त्र भन्न रूचाउने पद्मरत्न तुलाधर र हृदयेश त्रिपाठीहरूले चुनाव जिती सांसद र मन्त्री पद पड्काएकै त हुन् ।

नेकपा एमालेका खरा राष्ट्रवादी नेता भीम रावलले गएको बिहीबार सामाजिक सञ्जालमा तर्कमिश्रित प्रश्न गरेछन्–‘के सूर्य चिन्ह बिक्री भएको हो ?’ यति बोल्ने नेता एमालेमा जिउँदै भएको देख्दा सो पार्टीका त्यागी कार्यकर्ताहरू खुशीको सास फेर्छन् । उता एमाले अध्यक्ष केपी ओलीका दैनन्दिनआविष्कार हुने उखानटुक्का र द्विअर्थी शब्दले जनता दिक्कवाक्क भैसकेका छन् । सत्ताबाट झरेपछि ओलीले आफ्नो क्रेज र व्यक्तित्व यो हदसम्म झार्छन् भनेर सो पार्टीका कार्यकर्ताहरू कसैले सोचेका थिएनन् । तर डरका मारे कोही उनको अभिव्यक्तिविरुद्ध एक शब्द चुँ बोल्न सक्दैनन् ।

गरिब देशमा हुन पनि अरू बेला नेताहरू भाषणलाई मीठो बनाउन झुटको सहारा लिन्छन् तर चुनावमा अझ धेरै झुट बोलिन्छन् । राजनीतिक विश्लेषक केशवप्रसाद भट्टराई भन्छन्–‘राजनीतिमा संसारमा सबैभन्दा बढी गरिने फटाहा कुरा–निःशुल्क शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त शासन हुन् ।’ निःशुल्क शिक्षा भनिने नेपालमा अहिले केही अपवाद छाडेर सबैभन्दा महँगो वस्तु नै शिक्षा भएको छ । स्वास्थ्य र भ्रष्टाचारमुक्त शासन हेर्न एकपटक देश दौडाहामा निस्किए पुग्छ । अझ दुई नम्बर प्रदेशका यातायात र कर कार्यालयहरूमा दिनदहाडै भएका आर्थिक लेनदेन हेर्दा थाहा हुन्छ कि भ्रष्टाचारमुक्त शासन गरिब देशमा कहिल्यै पूराहुन नसक्ने कुरा हो ।

हाम्रो शासन कस्तो छ भन्ने हेर्न तराईका मालपोत, यातायात, कर, अन्तशुल्क र भन्सार कार्यालयमागई एक–दुई घन्टा चुप लागी मौन अध्ययन गरे पुग्छ । जनचाप ज्यादा हुने यी कार्यालयमा गएका तर काम नभैरहेका एक सेवाग्राही भन्दै थिए–‘हाजिर गरेर तलब खाने, अनि काम गरेर घूस खानेलाई निजामती कर्मचारी भनिन्छ रे !’ उनले भनेका कुरा सोह्रैआना सत्य हो । जसको पुष्टि मुलुकका महालेखा परीक्षकले हालै दिएको अन्तर्वार्तामा खुलासा गरिदिएका छन्–‘सत्तरी प्रतिशत सरकारी कर्मचारी कामै नगरी खान्छन् ।’ देश डुब्नुमा पहिलो हात नेताको र दोस्रो हात यस्तै कर्मचारीको छ ।

चुनावको माहोल रङ्गिसकेको छ । अहिले घोषणापत्रले बजार तताएको छ । नेता र दलले चुनावमा गर्ने बाचा भनेकै‘ढाँटको पुस्तक’ हो जुन न लेख्नेलाई आस्था छ न भोट दिनेलाई विश्वास । तैपनि लेख्नेले नानीदेखिको बल लगाएर लेख्छ अनि नेताले न्वारानदेखिकै बल लगाएर पढ्छन् तर हाँस उठ्दो कुरा त्यसमा न लेख्नेलाई आस्था छ,न पढ्ने र भोट दिनेलाई विश्वास । यो त्यस्तो मायावी चरो हो जो चुनावरूपी पिँजडाबाट उम्केपछि पाँच वर्षसम्मभ्रमको जङ्गलमा हराउँछ । अनिचुनाव चुनावका मुखमा त्यसको सम्झना हुन्छ । बिमा व्यावसायी विपिन भट्टराई मीठो पारामा लेख्छन्–

‘घोषणापत्र भनेको भ्रम र झुटको खेती हो । कुनै पनि पार्टीको घोषणापत्रमा तथ्यमा आधारित आर्थिक वृद्धिको मोडल एकरत्ति छैन ।मात्र जनतालाई ढाँटेर उनीहरूको भावनामा खेल्दै इमोसनल ब्ल्याकमेलिङ गर्ने काम विनाबित्थामा गरिन्छ । जुन सोह्रै आना पाप हो ।’

अब धिमा स्वरमै भए पनि घोषणापत्रमा अन्टसन्ट कुरा लेखेर मत थुत्ने तर पूरा नगर्ने पार्टी र व्यक्तिका नाममा मुद्दा हाल्ने तर्क बलियो गरी उठिरहेको छ । यदि यो कुरा भोलि व्यवहारमा लागू भयो भने नेताले दिउँसै तारा देख्ने दिन नआऊलान् भन्न सकिन्न ।देश सबै क्षेत्रमा डरलाग्दो गरी ओरालो लागिरहेको छ ।

बेथिति र बेरोजगारीले अजिङ्गरका रूप लिएका छन् । रमाइलो के छ भने, अहिले एकातिर पाँचदलीय र अर्कोतिर तीनदलीय गठबन्धन गरी स्थानीय चुनावमा जाने भनिरहेका छन्, वास्तवमा यो गलत संस्कार हो । सत्तामा रहेर तर मारिरहनका लागि जुन गलत संस्कार लोकतन्त्रमा बसाउन खोजिँदैछ त्यही बानीले भविष्यमा यी ठालु पार्टीहरूकै क्षयीकरण नहोला भन्न सकिन्न ।हिजो भारतमा भारतीय राष्ट्रिय कांग्रेसले गठबन्धनको संस्कार चलाएको थियो, अहिले आफैँ चुनावमा बढारिएर सकिन लागेको छ । भोलि यो कुरा नेपाली पार्टीहरूमा समेत लागू नहोला भन्न सकिन्न ।

मानवअधिकारवादी अभियन्ता राजन कुइँकेल लेख्छन्–‘बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा गठबन्धन गरेर चुनावमा जानु भनेको सत्तालिप्साको द्योतक हो । त्यसमा पनि विपरीत वैचारिक धरातल भएका नेपाली कांग्रेस र कम्युनिस्टबीचको चुनावी तालमेल भनेको त सिद्धान्तच्यूतताको पराकाष्ठा नै हो । निर्वाचन भनेको आफ्नो नीति, सिद्धान्त र विचारसहित जनताबीचमा पुगेर अनुमोदित भई शासन सञ्चालन गर्ने पद्धति हो । फगत चुनाव जित्ने र सत्ताभोग गर्ने एकसूत्रीय बाटो भनेको सर्वसत्तावाद हो ।

यो जुनै दलले गरे पनि सही मान्न सकिन्न । यो त काले–काले मिलेर खाऊँ भाले भनेझैँ मात्रहो ।जसलाई लोकतन्त्रको नाम दिन सकिन्न ।’ अहिले भएको त्यही हो । प्रचण्डलाई भरतपुरमा जुनसुकै कष्टमा छोरी रेणु दाहाललाई जिताउनु छ । उता नेकपा एकीकृतले पोखरा र काठमाडौँका एक–एक महानगरमा उसको दाबी गर्दैछ । पूर्वतिरको गतिलो महानगरपालिकाका रूपमा चिनिएको विराटनगरमा कांग्रेस र जसपाले मेयरमादाबी गरिरहेका छन् । यता वीरगन्जमा नवप्रवेशी विजय सरावगीलाई नै एमालेले टिकट दिने निश्चित भएको छ ।

यो पनि गलत संस्कारकै नजिर बस्ने भयो । हिजो एउटा पार्टीबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएका व्यक्तिहरू फेरि यो वा त्यो पार्टी चहार्दै आफू एकमात्र विकल्प हुँ भन्ने भावमा टिकट लिनैका लागि ‘आयाराम गयाराम’ प्रवृत्ति सम्झाउने गरी पार्टी परिवर्तन गर्दै हिँड्नेहरूलाई जनताले चुनाव जिताएर फेरि पदमा बसाइदिनका लागि के ठेक्का लिएका छन् ! लोकतन्त्रमा व्यक्ति र प्रवृत्ति फेर्न जत्ति पाइन्छ । अनि केको रडाको ? केको टिक्टिक् नि ?

नत्र यो लोकतन्त्र क्रमशः ‘कोलतन्त्र’ र समाजवाद बिस्तारी–बिस्तारी ‘मसाजवाद’ मा परिवर्तन हुन बेर लाग्दैन ।
सन्तानका लागि राजनीतिलाई जोगाइदिने नेता र पार्टीहरू नीरमा चोपलिएका दन्त्य कथाका स्यालझैँ एकदिन वास्तविक रूपमा आफ्नो स्वरूपमा प्रकट नहोलान् भन्न सकिन्न । अहिले नेकपा माओवादी केन्द्र परिवर्तन भएर नेकपा (दाहालवादी) भएको छ भन्दै मतदाताहरू विरोध गर्न थालिसकेका छन् । विगतमा महाभारतमा पुत्र–मोहमा परेका जन्मान्ध धृतराष्ट्रले दुर्योधन र दुशासनहरूले गरेका कुकृत्यहरू बाँचुन्जेल सुन्नुपरेको थियो भने आज परिवारवादको एकछत्र छाता ओढेका प्रचण्डका कुरा देशैभरिका उनका शुभचिन्तक र मतदाताले मानिरहनुपर्छ भन्ने केही पनि छैन ।

उनको परिवारबाट ‘बुहारी बिना सांसद तथा पूर्व–खानेपानी मन्त्री, छोरी रेणु भरतपुर महानगरकी मेयर, कान्छी छोरी राज्यको सुविधा पाउने गरी पूर्वप्रधानमन्त्री (दाहाल) की स्वकीय सचिव रहेकी छिन् भने भाइ नारायणप्रसाद दाहाल अब राष्ट्रिय सभामा सांसद । उनीहरू मात्र होइन, कान्छा ज्वाइँसमेत केन्द्रीय सदस्य छन् । यस्ता कुरा जनताको चेतना लेभल क्रमशः माथि उठिरहेका बेला सञ्चारमाध्यमबाट बाहिर आउँदा उनकै व्यक्तित्वको क्रेज घटिरहेको छ ।

यस्ता कुरा बाहिर आएपछि पक्कै प्रचण्डजस्तालाई अवश्य पनि राम्रो गर्दैन ।महाभारतमा पुत्र–मोहले अन्ततोगत्वा हस्तिानापुर नै कौरवका हातबाट चिप्लिएजस्तैगणतन्त्रमा पुत्री तथा नसनाताकै मोहका कारण प्रचण्डको राजनीतिक जीवनधरापमा परिसक्यो । आफ्नो स्तरबाट उनले लोभ त्याग्न सक्ने हो भने उनकै एजेन्डामा मुलुक अझै केही वर्ष हिँड्नेथ्यो । यस्ता कुराको बोध प्रचण्डलाई जति चाँडो हुन्छ त्यति चाँडोदेशले निकास पाउँछ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

प्रतिक्रिया दिनुहोस्