दिउँसो सडक बन्ने बिहान फोहोर उठ्ने


काठमाडाैं । 

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर विसर्जन गर्न सिसडोल जाने समय तोकेपछि सफाइमा सुधार भएको छ । राति २ बजेदेखि बिहान ८ बजे ६ घण्टा फोहोर बोकेका गाडी ल्यान्डफिल साइटमा जाने भएपछि सडक निर्माणमा समय दिन सम्भव भएको छ ।
पासाङल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन यस बाहेकको समयमा गाडी नपठाउने व्यवस्था गरिएको हो ।

स्थानीयवासीले सो सडक कालोपत्रे हुनुपर्ने माग गर्दै चैत १८ गतेदेखि दोस्रोपटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई चालु गर्ने प्रतिबद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको हो ।
फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३ सय ४० ट्रक फोहोर ल्यान्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

महानगरस्थित वातावरण व्यवस्थापन विभागका अनुसार सडक निर्माणको माग गर्दै स्थानीयवासीले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे । यस अवधिका ३३ दिन फोहोर उठ्न सकेन ।यसैबीच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन ग-यो । ल्यान्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो ।

यसैबीच काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा -यापिड एक्सन टास्कफोर्स गठन भयो । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापनसम्बन्धी कानुनी र व्यावहारिक समस्या समाधानमा सहजीकरण गर्न यो समिति बनाइएको हो उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन हुनेगरेको छ ।

यसमध्ये करिब ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौं महानगरको हो । सहरको फोहोर व्यवस्थापन गर्न नियमित कार्य सञ्चालन हुनुपर्छ । आंशिक काम गर्दा फोहोरको मात्रा उठाउन कठिन हुन्छ ।निमित्त विभागीय प्रमुख राई भन्नुहुन्छ– ‘हामीले नियमित काम गर्न पायौं भने ३ दिनभित्र सहरको सबै फोहोर उठाइसक्छौं । हामी फोहोर संकलनमा लागिरहेका छौं । पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो । यस समस्याको समाधान हामीबाट मात्र सम्भव छैन ।’ उहाँका अनुसार अहिलेको समस्याको मूल कारण सडक हो, नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ ।