सुदूरपश्चिममा मनाइयो सिस्नुपानी लगाएर ‘बिशु’ पर्व

0
Shares

डोटी । 

सुदूरपश्चिममा सालीले भेना तथा भेनाले सालीलाई सिस्नुपानी लगाएर ‘बिशु’ पर्व मनाएका छन् । वैशाख १ गतेका दिन भेना–साली तथा दवर–भाउजूलाई खोजी–खोजी सिस्नुपानी लगाउने चलन रहेको छ ।

यो पर्व हरेक नयाँ वर्षको १ गते मनाउने चलन रहेअनुसार उनीहरुले ‘बिशु’ पव मनाएका हुन् । नयाँ वर्ष अर्थात् ‘बिशु’ पर्वका दिन साली–भेना तथा देवर–भाउजूलाई सिस्नुपानी नलगाए वर्षभरिमा शरीरमा विभिन्नखाले रोग आउँछ भन्ने अन्धविश्वासका कारण सिस्नुपानी अनिवार्य लगाउनुपर्ने नियम रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी कृष्णबहादुर कामीले बताउनुभयो ।

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धुमधामका साथ ‘बिशु’ पर्व मनाइएको छ । डोटीसहित यहाँका अन्य जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दार्चुला तथा बाजुराका गाउँघरमा ‘बिशु’ पर्व मनाइएको स्थानीयबासी बताउँछन् ।सुदूरपश्चिममा ‘बिशु’ पर्वलाई निकै महत्वका साथ मनाउने चलन रहेको छ । यहाँका सात पहाडी जिल्लासहित तराइँका दुई जिल्ला कैलाली र कञ्चनपुरमा समेत उक्त पर्व निकै महत्वका साथ मनाइन्छ । तराईमा प्रायः गरी पहाडी समुदायका व्यक्तिले मात्रै उक्त पर्व मनाउने गर्दछन् ।

गएको वर्ष कोरोना महामारी निकै बढेका कारण ‘बिशु’ पर्व मनाउन नपाएको र यो वर्ष पहिलेको तुलनामा कोरोना केही कम भएको भन्दै यहाँका नागरिकहरु ‘बिशु’ पर्व मनाइएको आदर्श गाउँपालिका–५ का स्थानीय रामबहादुर रैकालले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘बिसु पर्व हाम्रो क्षेत्रमा निकै महत्वका साथ मनाइन्छ, बिसुका लागि भन्दै घरबाहिर तथा परदेश गएकाहरु पनि घर आउने भएकाले रमाइलो र चहलपहल बढी हुन्छ ।’ सुदूरपश्चिममा नयाँ वर्षको दिन एकाबिहानै नुहाईधुवाई गरी मिष्ठान्न परिकार खाएर तथा एक–अर्कालाई खान दिएर दिउँसोको सायमा ‘बिशु’ पर्व मनाइने गरिन्छ । नयाँ वर्षको दिन ‘बिशु’ पर्वको रमझमले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, अछाम, बाजुरा कैलाली, कञ्चनपुर, डोटीलगायतका जिल्लामा बेग्लै रौनक देखिएको थियो ।

बिसु पर्व मनाउनकै लागि यहाँका पहाडी जिल्लाका ग्रामीण भेगबाट कामका लागि गएका मानिसहरु भारतलगायतका ठाउँबाट आ–आफ्ना गाउँ–घर फर्किएका छन् । गहुँबाली भित्र्याउने र मकै छर्ने सिजनसमेत शुरु भएकाले हिउँदमा मजदुरीलगायत काम गर्न छिमेकी मुलुक भारतका विभिन्न शहर गएका यहाँका नागरिक अहिले गाउँ फर्किन थालेपछि यहाँका गाउँ घरमा दशैं–तिहार जस्तै चहलपलह भएको जोराय गाउँपालिका–५ का स्थानीयवासी तथा कांग्रेस नेता दीपककुमार विष्टले बताउनुभयो । नयाँ वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बालक्लबहरूले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् ।
अहिले यहाँका गाउँघरमा ‘बिशु’ पर्व तथा नयाँ वर्षकै लागि कमेरो र रातोमाटोले घर लिपेर चिटिक्क सजाइएका छन् । ‘बिशु’ पर्वमा मुख्यतया मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन । यसरी बटुक खाएपछि पेटमा समस्या नहोस् भनेर झिर तताएर डाम्ने प्रचलनसमेत यदाकदा समाजमा देख्न सकिन्छ ।

यसका साथै खीर, सेल, पुरीलगायत मिष्ठान्न पकाएर खाने चलन छ । तर, यस दिन ननुहाई खाना नखाने मान्यता छ, नुहाउन पनि जौ–तिल, तीतेपातीलगायत सामग्री प्रयोग गरिन्छ, जुन पवित्रताको प्रतीक मानिन्छ ।बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको ज्योतिष पण्डित पदमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किम्वदन्ती छ ।