प्रचण्डसँग विप्लव समूहका नेताको भेट


काठमाडौं । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेताहरूले बिहीबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलाले खुमलटारमा गएर प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

आफ्ना पार्टीका नेताहरूको रिहाइ र समसामयिक विषयमा कुराकानी भएको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले नेपाल समाचारपत्रलाई बताउनुभयो । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट नेताद्वयले प्रचण्डसँग पनि भेटवार्ता गरेका हुन् । वली र बाँस्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा रहेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा प्रचण्डले सिंगो नेकपा नै माओवादी केन्द्रमा एकताबद्ध होस् भन्ने आफ्नो कोसिस गरेको बताउनुभएको थियो । केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा भएको जानकारी दिँदै प्रचण्डले उहाँहरूलाई पार्टी एकताको विषयमा गम्भीर भएर सोच्न आग्रह गर्नुभएको पनि स्वकीय सचिव मल्लले बताउनुभयो ।