आसन्न निर्वाचन र बुद्धिजीवी पेसाकर्मीहरु



?????????????????????????????????????????????????????????

संविधान जारी भएपछि पहिलोपटक भएको निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेर गठन भएको केपी ओलीको सरकार सत्ताच्यूत भएपश्चात् मुलुकमा राजनीतिक अस्थिरता बढेको छ । र, पाँच दलीय गठबन्धनबाट सरकार सञ्चालन भएको छ । राजनीतिक अस्थिरता कायम नै छ । मुलुकमा राजनीतिक, आर्थिक संकट उत्पन्न भएको बेला स्थानीय तहको निर्वाचन हुँदै छ । यो निर्वाचन राजनीतिक अस्थिरता अन्त्य गर्ने एउटा माध्यम पनि हो । अतः यस्तो परिस्थितिमा राजनीतिक स्थिरता कायम गर्न जनमत निर्माण गर्न बुद्धिजीवी पेसाकर्मीहरुको भूमिका अहं रहेको छ ।

बुद्धिजीवी पेसाकर्मी समाजको चेतनाका बाहक हुन् । आफ्नो बौद्धिक श्रम गरेर जीविका चलाउने बुद्धिजीवी पेसाकर्मीहरु समाजका अन्य मानिसभन्दा विशिष्ट र अब्बल व्यक्ति हुन् । के कुरा ठीक, के कुरा बेठीक हो भनेर आलोचनात्मक ढंगबाट हेर्ने, बुझ्ने, बुझाउने र अध्ययन–अनुसन्धान गरेर सही कुरा जनसमक्ष ल्याउने काम गर्दछन् । यस्ता व्यक्तिहरु नै बुद्धिजीवी हुन् । बुद्धिजीवीहरुले समाजलाई तलाउजस्तो भएर बस्न दिनुहुँदैन, आफूसँग भएको ज्ञान, बुद्धि जनतासँग बाँड्नुपर्दछ । यति मात्रै होइन, देश दुनियाँमा घटेका गलत कुराको खण्डन–मण्डन गरेर देशलाई सही बाटोबाट अगाडि बढाउन भूमिका निर्वाह गर्नुपर्दछ ।

वैज्ञानिक समाजवादका गुरु कार्ल माक्र्सका अनुसार उत्पादनका साधनमाथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्दछ । माक्र्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ भनेर उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र ऊ त्यति बेला मात्र बुद्धिजीवी हुन सक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्दै समाजसँग अन्तरक्रिया गर्छ अनि उसको विचारले वर्गअनुसारको अभिव्यक्ति दिने गर्दछ भनेका छन् ।
एन्टिनो ग्राम्सीका अनुसार समाजमा तीन खालका बुद्धिजीवी हुने गर्दछन् । पहिलो बुद्धिजीवी परम्परागत बुद्धिजीवी हुन्छन् । पुँजीवादभित्रबाट निर्मित यो वर्गका बुद्धिजीवीहरु उदीयमान आर्थिक वर्ग वा आर्थिक तथा राजनीतिक रुपले सीमान्तकृत समूहबाट आउने गर्दछन् । यिनीहरुले आफ्नो स्वार्थ अनुरुप पुँजीवादलाई समर्थन वा विरोध गर्दछन् ।

दोस्रो वर्गका बुद्धिजीवी प्राविधिक वा प्रशासनिक बुद्धिजीवी हुन्छन् । ठूलो संख्यामा रहेको यो समूहका बुद्धिजीवी दैनिक गतिविधिसँग सम्बन्धित हुन्छन् र निश्चित आर्थिक सीमाभित्र केन्द्रित हुने गर्दछन् । यो समूहका बुद्धिजीवी सामान्यतया सत्तासँग नजिक हुन्छन् । तेस्रो वर्गका बुद्धिजीवी जैविक बुद्धिजीवी हुन्छन् । यस वर्गका बुद्धिजीवीहरु आफ्नो पेसाद्वारा निर्धारित नभई उनीहरुको क्षमता, क्षेत्र र परिवर्तन उन्मुख चाहनासँग सम्बन्धित हुने गर्दछन् । यो समूहभित्र पनि हेजेमोनिक जैविक बुद्धिजीवी र हेजेमोनीको विरोध गर्ने बुद्धिजीवी गरी दुई खालका बुद्धिजीवी हुने गर्दछन् । पहिलो समूहले पुँजीपति वर्गको हितमा कार्य गर्दछन् र पुँजीवादको राजनीतिक दर्शन, नैतिकता, यसको सामाजिक र सांस्कृतिक पक्षको व्याख्या गर्दछन् ।

बुद्धिजीवी पेसाकर्मीको काम र भूमिकाबारेमा माथि चर्चा गरेजस्तै यति बेला हाम्रो जस्तो देशमा जुन राजनीतिक परिस्थितिको विकास भएको छ, यस परिस्थितिमा २०६२-६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गरेर संविधान अनुसार मुलुकलाई अगाडि बढाउँदै लोकतन्त्र एवं संविधानको रक्षा र सुदृढीकरण गरी संविधान अनुसार मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन बौद्धिक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । यही क्रममा स्थानीय तहको निर्वाचन संघारमा आइसकेको छ । यो निर्वाचन स्थानीय तहको भए पनि यसमा राष्ट्रिय राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । स्थानीय तहका सरकारहरु समाजवाद निर्माणका चालक शक्ति हुन् । त्यसो भएको हुँदा स्थानीय तहको निर्वाचनको महत्व रहेको छ ।

असंवैधानिक तवरले संसद् विघटनपछि राष्ट्रिय राजनीतिमा ध्रुवीकरण भएको छ । यो ध्रुवीकरण गाउँ, वडा तहसम्म पुग्ने निश्चित भइसकेको छ । खासगरीकन वाम लोकतान्त्रिक गठबन्धनको मोर्चा बनाएर नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका बीचमा गठबन्धन र तालमेल गरेर साझा ढंगबाट निर्वाचनमा खडा हुने भएका छन् । केपी ओलीले नेतृत्व गरेको एमाले, महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी, कमल थापाले नेतृत्व गरेको पूर्वराजावादी र पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पनि तालमेल भएर साझा ढंगबाट निर्वाचनमा खडा हुने देखिएको छ ।

राष्ट्रिय राजनीतिमा देखा परेको यो ध्रुवीकरणले स्पष्टरुपमा राजनीतिलाई दुई कित्तामा विभक्त गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन भर्सेस दक्षिणपन्थी गठबन्धनको रुपमा यो निर्वाचन हुने देखिएको छ । एमालेले आफूलाई वामपन्थी पार्टी भन्दै आए पनि एमालेले यस्तो ध्रुवीकरण किन रोज्यो ? प्रस्ट छ कि एमालेको नेतृत्व गरेका केपी ओलीले संविधान जारी भएपछि पहिलोपटक भएको निर्वाचनमा झन्डै दुई तिहाइको बहुमतका साथ सरकार सञ्चालनको अवसर पाएका थिए । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र जनादेश विपरीत सर्वसत्तावादी ढंगबाट राज्य सञ्चालन गर्ने काम गरेपछि सर्वत्र आलोचित बन्न पुगे । यहीँ कार्यशैलीका कारण पार्टीभित्र पनि अल्पमतमा परे । तर केपी शर्मा ओलीले जसरी पनि सत्तामा रहन र सरकार टिकाउन एकपछि अर्काे गर्दै संविधान विपरीत राज्य सञ्चालन गर्ने काम गरेपछि केपी ओलीका विरुद्ध मोर्चाबन्दी शुरुआत भयो ।

संविधान विपरीत दुई–दुईपटक संसद् विघटन गर्ने, संवैधानिक अंगहरुमा आफ्नो पकड कायम गर्न जथाभावीरुपमा संसद्लाई छलेर अध्यादेश जारी गरी संविधानको भावना विपरीत संवैधानिक अंगहरुमा जथाभावी नियुक्ति गर्ने, राज्यकोषको दुरुपयोग गर्ने, सत्ता टिकाउन सार्वभौभ देशको सरकारको प्रमुखको हैसियतले कूटनीतिक मर्यादा विपरीत विदेशी गुप्तचरसँग अपारदर्शी ढंगबाट भेटघाट गर्ने र विदेशीहरुको सामु राष्ट्रिय आत्मसमर्पण गरेर मुलुकको राष्ट्रियतामा गम्भीर चुनौती खडा गर्ने, आफ्नो गुट स्वार्थको लागि राज्यको ढिकुटीको दुरुपयोग गर्ने, कमिसनखोर, कालाबजारिया र दलाल पुँजीवादीहरुसँग साँठगाँठ गरी प्रश्रय दिने, अनियमितता र भ्रष्टाचार बढाउने, जनचाहना र आवश्यकता विपरीत असन्तुलित हिसाबले विकासका योजना सञ्चालन गर्ने कामलाई प्राथमिकता दिएर यथास्थिति र प्रतिगमनतर्फ मुलुकलाई धकेलेर राजनीतिक संकट सृजना गर्ने काम गरेपछि देशमा आन्दोलनको स्थिति बन्यो ।

मुलुकमा सृजना भएको यस किसिमको संकटलाई अन्त्य गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि २०६२÷६३ को जनआन्दोलनको नेतृत्व गर्ने र संविधान निर्माणमा नेतृत्व गर्ने राजनीतिक दलहरुबीच यस किसिमको सर्वसत्तावादी गतिविधि र प्रतिगामी कदमका विरुद्ध आन्दोलन गरी लोकतन्त्र र संविधानको रक्षा गर्ने र संविधानको प्रभावकारी कार्यान्वयन गर्न सहकार्य र एकता गर्ने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुका बीच प्रतिगमनका विरुद्ध वाम लोकतान्त्रिक गठबन्धन निर्माण भयो । प्रतिगमन विरोधी आन्दोलनको परिणामस्वरूप सम्मानित सर्वोच्च अदालतबाट संसद्को पुनस्र्थापन भयो र असंवैधानिक कदम चालेर संसद्भित्र अल्पमतमा पुगेका प्रधानमन्त्री केपी ओली अदालतको फैसलाकै आधारमा सरकारबाट हटेपछि पाँच दलको गठबन्धन र समर्थनमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार सञ्चालन भइरहेको छ ।

असंवैधानिक कदम चालेर सत्ताच्यूत हुन पुगेका केपी ओली अहिले पनि आन्दोलनकारी राजनीतिक दलहरुका विरुद्ध जथाभावीरुपमा अभिव्यक्ति दिइरहेका छन् । अहिलेको निर्वाचनमा केपी ओली गुटको पार्टी एमाले र जनआन्दोलन विरोधी तथा संविधान र गणतन्त्र विरोधी घोर दक्षिणपन्थी एवं राजतन्त्रवादी शक्तिहरुसँग साँठगाँठ र आपसी तालमेल गरेर आफ्नो शक्ति पुनः स्थापित गर्न उद्यत रहेका छन् । यसरी मुलुकमा जनआन्दोलन विरोधी, गणतन्त्र विरोधी, संविधान विरोधी शक्तिहरु सल्बलाइरहेको स्थितिमा लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी तीनवटै तहको निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धनलाई अझ सुदृढ र एकताबद्व ढंगबाट अगाडि बढाउने पाँच राजनीतिक दलहरुबाट निर्णय गरेका छन् ।

संघारमा स्थानीय तहको निर्वाचन आइरहेको छ । यो निर्वाचनमा वाम लोकतान्त्रिक शक्ति पक्षधर उम्मेदवारको पक्षमा जनलहर सृजना गर्न समाजको बौद्धिक वर्गको रुपमा रहेका बुद्धिजीवी एवं पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका रहन्छ । बुद्धिजीवी पेसाकर्मीहरु, जसले २०४६ र २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन तथा प्रतिगमन विरोधी आन्दोलनमा संयुक्त ढंगबाट महत्वपूर्ण भूमिका निर्वाह पनि गरेका छन् । र, अहिले आन्दोलनकै रुपमा संघारमा आएको यस निर्वाचनमा पनि बुद्धिजीवी पेसाकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ ।
खासगरी बुद्धिजीवी पेसाकर्मीहरुले यस घडीमा वाम लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरुलाई अझ सुदृढ र एकताबद्ध बनाउन जरुरी छ । साथै निर्वाचनमा वाम लोकतान्त्रिक शक्तिहरुको पक्षमा जनमत निर्माण गरेर प्रतिगामी शक्तिलाई परास्त गर्न र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि राजनीतिक दलहरूले निर्वाचनलगायत सरकार सञ्चालनका लागि तय गर्ने चुनावी घोषणापत्र तथा नीति तथा कार्यक्रम र बजेट तर्जुमामा बुद्धिजीवी पेसाकर्मीहरुले बौद्धिक योगदान पु-याउन आवश्यक छ ।

यति बेला बुद्धिजीवीहरुले वाम लोकतान्त्रिक गठबन्धनको महत्व, आवश्यकता र आगामी भूमिकाबारे संयुक्तरूपमा गोष्ठी, भेला, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने काम गर्नुपर्दछ । यस्तो कार्यक्रममार्फत केन्द्र, जिल्ला र स्थानीय स्तरमा गठबन्धनका राजनीतिक शक्तिहरुलाई एकताबद्व बनाउन पहल गर्न पर्दछ । यस्तै राजनीतिक दलहरूले निर्वाचनमा जारी गर्ने चुनावी घोषणापत्र र प्रतिबद्धताका लागि तथा विभिन्न तहका सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रममा सुझाव दिएर आ–आफ्नो क्षेत्र र तहबाट भूमिका निर्वाह गर्न पर्दछ । मुलुकको अग्रगति र प्रगतिको लागि आगामी निर्वाचनमा वाम लोकतान्त्रिक पक्षधर उम्मेदवारहरुको पक्षमा जनलहर सृजना गर्न संयुक्तरूपमा अपिल तथा पर्चा प्रकाशन गरी वितरण गर्ने काम गरेर बुद्धिजीवीहरुले भूमिका निर्वाह गर्न पर्दछ । बुद्धिजीवीहरुले आफ्ना विचारलाई विभिन्न सञ्चारमाध्यममा लेख–रचना प्रकाशित गरी विचार प्रवाह गर्ने, अन्तर्वार्ता, परिसंवादजस्ता कार्यक्रममा सहभागी भएर विचार प्रवाह गरी जनतालाई सचेत र जागृत पार्ने काम गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्