बिग्रँदाे अर्थव्यवस्थाप्रति पूर्वराजाको चिन्ता


 काठमाडौं । 

पूर्व राजा ज्ञानेन्द्र शाहले अर्थ व्यवस्था जटिल बन्दै गइरहेको र बढ्दो महंगी र थपिदो आर्थिक बोझले सर्वसाधारणलाई जीवन गुजारा गर्न कठिन भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो–‘हाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नपालीको घरघरमा बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।’

नेपालको विदेश नीतिमा विचलन आएकोप्रति संकेत गर्दै उहाँले भन्नुभएको छ–‘आज नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ, त्यो आफैंमा आत्महिनताको विषय बन्न गाएको छ ।’ उहाँले छिमेकी राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो रहनुपर्ने सुझाव पनि दिनुभएको छ ।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक असन्तुष्टि व्यक्त गर्दै भन्नुभएको छ– ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनु पर्दछ । तर, चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो ।’