बन्लान् त न्याछ्यो ललितपुर महानगरका मेयर ?



भरतलाल न्याछ्याें नेपाली कांग्रेसका पुराना, बौद्धिक र अनुभवी नेताका रूपमा चिनिनुहुन्छ । २०४९ सालमा कांग्रेस जिल्ला कार्यसमितिको सहसचिव, पार्टीको २०५२ सालमा भएको नवौं महाधिवेशन र २०६७ मा भएको १२औं महाधिवेशनपछि दुईपटक नगर सभापति तथा पार्टीको १३औं र १४औं केन्द्रीय महाधिवेशमा सदस्य रहेका उहाँ ललितपुर महानगरपालिकाका मेयरका एक प्रबल दाबेदार हुनुहुन्छ । प्रस्तुत छ न्याछ्योंसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानी, जसले माथि लेखिएको शीर्षकको जवाफ खोज्न सघाउनेछ:

 नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा तपाईंकै दाबी किन ?

पार्टी जीवनमा लामो समयको सक्रियता, पार्टीलाई एकढिक्का बनाइराख्न गरेको विगतमा निर्वाह गरेको भूमिका र ललितपुर बनाउने ‘भिजन’ बनाएको आधारमा महानगरपालिकाको मेयरको लागि म स्वतः दाबेदार हुँ । २०३७ सालमा भएको जनमत संग्रहपछि नेपाली कांग्रेसमा आधिकारिकरूपमा लागेको हुँ । त्यति बेला वाणिज्य शास्त्रमा स्नातकोत्तर पढाइ पूरा गरेर म बसिरहेको थिएँ, पञ्चायत व्यवस्था ढाल्ने संघर्षका कार्यक्रमहरु भइरहेका थिए । पार्टीमा संस्थापकमध्ये एक बीपी कोइरालाको समाजवादी अवधारणाबाट ज्यादै प्रभावित हुन पुगें । मुलुकका लागि केही गर्ने भाव जाग्रृत भयो । लेख्ने, बोल्ने स्वतन्त्रता नभई समाज, राष्ट्रको विकास हुँदैन, त्यसैले पहिला स्वतन्त्रताका लागि लड्नुपर्दछ भन्ने ध्येयले म राजनीतिमा लागें ।

दोस्रो कारण, देशको विकास गर्नुपर्दछ भन्ने विचारले मलाई राजनीतिमा लाग्न प्रेरित गरेको थियो । विकास भनेको राजनीतिसंँग जोडिएको हुन्छ । विकास केवल दातृ निकाय, टेक्नोक्र्याटले नभई जनताले मिलेर गर्ने हो । राजनीतिले विकासको ढाँचा, स्वरूप र माहोल तयार गरिदिने हो । राजनीतिक स्वतन्त्रता, लोकतन्त्रको प्रत्याभूत नभइकन मुलुकको सही अर्थमा विकास हुँदैन भन्ने तथ्यलाई मनन गरी राजनीतिमा होमिएको हुँ । पार्टी राजनीतिको पृष्ठभूमि, नगरवासीसँंग लामो समयदेखि घुलमिल भएर काम गराइको अनुभव, जनप्रतिनिधि रिक्त रहेका बेला साविकको ललितपुर महानगरपालिकाको सर्वदलीय संयन्त्रमा रही नीति, योजना निर्माणमा खटिएको अनुभव बटुलेको हिसाबले मेयरमा मैले दाबी गरेको हुँ । मेयरमा मेरो उम्मेदवारी यसैपटक र एकपटक रहनेछ ।

 ललितपुर नगर बनाउन तपाईंले के–के योजना अघि सार्नुभएको छ ?
ललितपुरलाई कसैले स्मार्ट सिटी बनाउने, कसैले मेट्रो सिटी बनाउने भनेको सुनेको छु । वास्तवमा यो विचार भनेको ललितपुरको विशिष्ट अवस्था नबुझ्नु वा बुझेर पनि बुझपचाउनुसरह हो । ललितपुर विश्वकै एउटा पुरानो सभ्यता र संस्कृतिले भरिपूर्ण शहर हो । विश्वको जुनसुकै ठाउँको पुरानो शहरमा गर्ने मुख्य कार्य भनेको त्यहाँको मौलिकता, सभ्यता, संस्कृति र इतिहास जोगाउने हो । त्यसैले ललितपुरलाई ‘स्मार्ट’ नभई ‘हेरिटेज’ वा सांस्कृतिक शहर बनाउनुपर्दछ । यसै अवधारणामा टेकेर महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनुपर्दछ । फ्लाइओभर, ठूल्ठूला गगनचुम्बी महल बनाउने नीतिले सांस्कृतिक शहरको शोभा बढाउँदैन ।

अहिले महानगरपालिकामा गाभिएका चक्रपथबाहिर पर्ने साविकका गाविस, हालका २३ देखि २९ वडा रहेका छन् । ती वडा पनि मूर्त, अर्मूत संस्कृति र सम्पदाले भरिपूर्ण छ । कृषियोग्य जमिन प्रशस्तै छन् । वातावरण स्वच्छ र हराभरा रहेको छ । यहाँको वस्तुस्थिति सुहाउने किसिमले वा सम्पदा बस्तीमा प्रतिकूल असर नपर्ने गरी जनताको आवश्यकताअनुरूप भौतिक पूर्वाधार बनाउने नीति तर्जुमा गर्नुपर्दछ ।
ललितपुरको आर्थिक सम्भावनाको आधार हस्तकला, पर्यटनसँगै कृषि पनि हो । ती आधारलाई बलियो बनाउने र त्यसबाट लाभ लिने दीर्घकालीन योजना तयार गर्नुपर्दछ ।

ललितपुर अहिले शिक्षा र स्वास्थ्यको ‘हब’ का रूपमा विकसित हुँदै गएको छ । ठूल्ठूला स्क्ल, कलेजहरु यहाँ छन् । अस्पतालको संख्या बढ्दै गएको छ । यसलाई अवसरका रूपमा लिएर सदुपयोग गर्ने नीति महानगरपालिकाले अँगाल्नुपर्दछ । महानगरपालिकाले सहकार्यले यहाँ आर्थिकस्तर कमजोर भएका स्थानीयबासीलाई पढाउन सकिन्छ । हस्तकलासम्बन्धी क्याम्पस खोल्न सकिनेछ ।नीति, योजना र कार्यक्रमको तर्र्जुमादेखि कार्यान्वयनसम्म सरोकारवालाको सहभागिता, अपनत्व महत्वपूर्ण रहन्छ । त्यसैले नगर बनाउन सबैको साथ, सहयोग, सुझाव लिएर अघि बढ्ने छु । मूलतः एउटा धरातलीय यथार्थमा उभिएर, सबैसँग मिलेर अघि बढ्ने मेरो सोच रहेको छ ।

 महानगरपालिकाले पाँच वर्षमा गरेको कार्यलाई कसरी लिनुभएको छ ?

महानगरपालिकाले पाँच वर्षमा जति काम गर्नुपर्ने पनि त्यति गर्न नसकेको स्पष्ट रहेको छ । स्मार्ट सिटी, फ्लाइओभरको हावादारी सपना सुनाइयो, त्यसको सम्भाव्यता अध्ययनमा करोडौं रुपियाँ खर्च गरियो । ठूल्ठूला नारा र हल्लाले जनतालाई दिग्भ्रमित बनाउने काम बढी भयो । प्रचारबाजी र अफवाह फैलाउनमा जनप्रतिनिधि रमाए । भाषणमा सधैं स्मार्ट भने पनि कार्यसम्पादन हचुवा र अरूले गरेको पनि श्रेय लिने किसिमको देखियो । वर्षांैसम्म कार्यपालिका बैठक छलेर दर्जनांै निर्णय गरियो । विधि, प्रक्रियामा महानगरपालिका डोहो-याउन सकेको छैन । महालेखा परीक्षकको कार्यालयको वर्षेनी प्रतिवेदनले महानगरपालिकाको बेरुजु झन्–झन् बढेको देखाएको छ ।जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने, प्रशासन सुधार गर्ने, सानातिना व्यावहारिक सुधारका कामहरुलाई पूर्णतयाः बेवास्ता भउको छ । नगरवासीको हित, उत्साह ल्याउने भिजन ल्याउन सकेको पाइएन । नगरवासीको अपेक्षामा महानगरपालिका अझ जिम्मेवार, उत्तरदायित्व आचारण र व्यवहार प्रस्तुत गर्न सकेन । यसले गर्दा महानगरपालिकाको कामबाट नगरवासी सन्तुष्ट छैनन् ।

नगरको विशेषतालाई बुझेर सरोकारवालाको साथ लिएर महानगरपालिकाले काम गर्न सकेको छैन । निर्णायक सवालमा महानगरपालिकाका जिम्मेवार व्यक्तिहरु पटक–पटक चुकेको छ । जस्तै, रातो मच्छिन्द्रनाथको रथ तान्ने सवालमा २०७७ भदौं १८ गते बिहीबार पुल्चोकमा भएको प्रहरी र स्थानीयबीच भएको झडपमा निर्वाचित जनप्रतिनिधिले परिपक्व र जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न सकेन । सम्पदा अभियन्तालाई अराजक र उच्शृंखल संज्ञा दिँदै वातावरणलाई उत्तेजक, जटिलता थप्ने काम गरेको नगरवासीले बिर्सिएका छैनन् ।

पुल्चोकको पलेस्वां पुखूँ (पोखरी) कायम गर्नुपर्ने स्थानीयवासीको आन्दोलनलाई प्रहरी बलद्वारा दबाउन अनेक हरकत गर्नुका साथै पार्किङका लागि ठेक्का दिइयो । स्थानीयको विरोधलाई अल्पबुद्धिको संज्ञा दिँदै शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउन पेलेर जाने रवैया देखाए । पाँच वर्षको कार्यकाल उपलब्धि न्यून, हल्ला बढी भयो । जिम्मेवार व्यक्तिको अलोकतान्त्रिक चरित्र, व्यवहारले धेरै नगरवासी चिढिएका छन् ।

 अहिलेको बहालवाला मेयरले पनि फेरि दाबी गर्दै आएको चर्चा सुनिन्छ, यसमा के भन्नुहुन्छ ?

उहाँले आफ्नो सोच र व्यवहारले जे जति गर्नुभयो, त्यो नगरवासीको लागि बिहानीको घाम जस्तै छर्लंग छ । भएका सबै क्षमता प्रदर्शन गरिसकेकाले अहिलेको भन्दा बढी काम हुनेछ भन्ने आशा गर्नु आधारहीन रहनेछ । पाँच वर्षको कार्यकालमा एउटा गतिलो भिजन अघि सार्न नसक्दा, हावादारी सपना, कमजोर प्रस्तुति, कार्यसम्पादनमा भएको सुस्तताले गर्दा सर्वसाधारणसँगै पार्टी कार्यकर्ताको पनि मनोबल घटेको छ । यसले जनताका नजर पार्टीप्रतिको छाप राम्रो बनाउँदैन ।
ललितपुरलाई ‘हेरिटेज’ शहर बनाउन र पार्टीको सुदृढीकरण र छवि अझ उकास्न नगरवासीको चाहना, इच्छा र भावना बुझेको, पार्टी जीवनमा लामो योगदान दिएको, लोकतन्त्रको लडाइँमा होमिएको, जनतामा राम्ररी भिजेको आधारमा मलाई नै आधिकारिक उम्मेदवारी बनाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्