गणेशमान–बीपीको पहिलो भेट र नेपाली राष्ट्रिय कांग्रेसको गठन

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–४



कालिम्पोङमा गणेशमानलाई बनारसका साथीहरुबाट ‘सर्चलाइट’ मा प्रकाशित लेखबारेको जानकारी र कोइरालासँग भेट्नु उचित हुने जरुरी सूचना प्राप्त भयो । बनारसमा एकपटक डिल्लीरमण रेग्मीबाट खिन्न बनिसकेकाले यो नयाँ नाममाथि पनि उनलाई सन्देह थियो । उनी राजनीतिक दलको व्यवस्थापन, सञ्चालन र सके नेतृत्व लिन सक्ने व्यक्तिको खोजीमा थिए ।

एउटा भेटमा रेग्मीले बिमारीको बहाना बनाई राणाविरुद्ध वक्तव्य दिनसमेत मानेका थिएनन् । भारतको स्वतन्त्रता संग्राममा सरिक भएको कारण बृटिस अधिकारीहरुबाट बन्दी बनाई भरखरै मात्र मुक्त भएका रेग्मी फेरि कुनै पनि किसिमको खतरा मोल्न बिल्कुलै तयार थिएनन् । उनको त्यस व्यवहारबाट खिन्न बनेका तर धैर्यवान् गणेशमान कालिम्पोङ फर्केका थिए ।

साथी देवशंकर लाल श्रेष्ठले पठाएको पत्र र ‘सर्चलाइट’ मा प्रकाशित लेखको काटेको टुक्रा पाएपछि गणेशमान बनारस गए । त्यहाँ विश्वविद्यालयका साथीहरुसमेतको सुझावमा उनी त्यहाँबाट कलकत्ता गए । कलकत्तामा डी.के. शाही र डी.एन. प्रधानले गणेशमान र बी.पी. कोइरालाबीच भेटको व्यवस्था मिलाइदिए । बी.पी.को वस्तुस्थितिलाई छिट्टै बुझ्ने क्षमता र बोल्ने कला तथा केही गरुँ भन्ने चाहनाबाट चकित गणेशमान उनीबाट प्रभावित बने ।

सारांशमा भन्नुपर्दा उनले बनारसमा भेटेका रेग्मीको तुलनामा यिनीबाट बढी अपेक्षा राखे । कोइरालाले पनि गणेशमानको साहस र दृढताको प्रशंसा गरे । उनलाई पनि गणेशमान झ्यालखान तोडी बन्धनबाट उम्केको जानकारी थियो । नेपालमा आफूहरुले चाहेजस्तो राजनीतिक परिवर्तन गर्न एक राजनीतिक दल स्थापना गर्न दुवै सहमत भए ।

यसरी नेपालबाट गएका नेपाली कार्यकर्ता र भारतमै बसोबासमा रहेका नेपालीहरुले २५–२६ जनवरी सन् १९४७ (वि.सं. २००३-१०-३–४) मा कलकत्ताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा बसेको संयुक्त बैठकबाट ‘नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना गरे । उक्त बैठक, चार शहीदहरु शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको चिरशान्तिको कामनामा एक मिनेट मौन धारणा गरी प्रारम्भ गरिएको थियो ।

गठित राजनीतिक दलको लक्ष्य ‘नेपालमा संवैधानिक राजाको नेतृत्वमा जनउत्तरदायी सरकारको स्थापना गर्नु’ रहेको थियो । गणेशमान सिंहको पहलमा नेपालमा रहेका टंकप्रसाद आचार्यलाई सम्मान गर्दै दलको अध्यक्ष घोषणा गरे, बी.पी. कार्यकारी अध्यक्ष, बालचन्द्र शर्मा महासचिव अनि देवशंकर लाल श्रेष्ठ कोषाध्यक्ष घोषित भए । अन्य कार्यकारी समितिको सदस्यहरुमा गणेशमान सिंहलगायत डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, डी.एन. शर्मा, रुद्रप्रसाद गिरी र अन्य तीनजनाको नाम घोषणा भयो । पार्टी कार्यालय बनारसको ६५ नं. दूधविनायकमा खोले । नवगठित पार्टी सञ्चालन गर्न गणेशमान सिंहले बीजकोषस्वरुप कालिम्पोङमा धाख्वा भाइहरुले दिएको ८ हजार भारतीय रुपियाँ सुम्पिदिए ।

नवगठित पार्टीले गठन भएको एक महिनाभन्दा केही दिनपछि विराटनगरमा कार्य आरम्भ गर्ने मौका पायो । विराटनगर पूर्वी तराईको एक औद्योगिक शहर हो । जुद्ध शमशेरको पालामा त्यहाँ जूट मिल, चिनी मिल, कपडा मिल, सलाई कारखाना, रसायनसम्बन्धी कार्य गर्नेजस्ता केही मझौला किसिमका कलकारखानाहरुको स्थापना भएको थियो । नेपाल बैंक लिमिटेडको स्थपना पनि त्यसै बेला भएको थियो । सन् ४ मार्च १९४७ (२००३-११-२१) मा जूट मिलका मजदुरहरुले मजदुर संगठनलाई मान्यता प्रदान गर्नुपर्ने र ज्याला वृद्धि गर्नुपर्नेसहित अन्य मागहरु राखी हड्ताल गरेका थिए ।

नेपाली राष्ट्रिय कांग्रेसलाई त्यस हड्तालबारे पहिल्यै सूचना प्राप्त भइसकेको थियो । त्यसैले अन्य मजदुरसँगै आफ्नो भाइ पर्ने तारणीप्रसाद कोइराला र आफ्नै भाइ गिरिजाप्रसाद कोइरालाले शुरु गरेको उक्त हड्ताललाई राजनीतिक नेतृत्व प्रदान गर्न सन् ९ मार्च १९४७ (२००३-११-२६) मा बी.पी. कोइराला, बालचन्द्र शर्मा र अन्य साथीहरु विराटनगर पुगे । रासायनिक कार्यशालामा कार्यरत उनका आफन्त पर्ने मनमोहन अधिकारी र साथै युवराज अधिकारी पनि त्यस हड्तालमा सहभागी बने । त्यस किसिमको विरोधका बारेमा अनभिज्ञ अधिकारीहरुले त्यसलाई दबाउन हदैसम्मको शक्ति प्रयोग गरे ।

सुरक्षाकर्मीहरुले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली दागे, जसबाट केही मरे भने धेरै घाइते भए । हड्तालको प्रमुख हिमायतीहरुलाई बन्दी बनाई सिक्रीले बाँधेर काठमाडौंमा ल्याइयो । त्यसरी ल्याउनाले सरकार आन्दोलनकारीको पासोमा फस्न पुग्यो । किनभने हिँडाएर काठमाडौंमा ल्याउँदा बाटोमा पर्ने गाँउघरमा उनीहरुले प्रदर्शन गर्दै राणाशाहीको अन्यायबारे ठूल्ठूलो स्वरमा नारा लगाउँदै गए । काठमाडौंमा पनि राणाशाहीको विरोधमा जनप्रदर्शन भयो । उक्त विरोध प्रदर्शनको अग्रपंक्तिमा अन्यका साथ प्रेमबहादुर कंसाकार, टंकविलास वज्राचार्य, नूतन थपलिया र गणेशमानका पुराना साथीहरु शम्भुराम श्रेष्ठ र सूर्यबहादुर भारद्वाज थिए । काठमाडौंका जनता नेपाली राष्ट्रिय कांग्रेसबाट पृथक रही कार्य गर्न थाले । तिनीहरु चार अमर शहीदहरुको बलिदान, गणेशमानको बहादुरीपूर्ण जेल उम्काइ र परिवर्तनप्रतिको आफ्नै चाहनाबाट अभिपे्ररित भएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेसले सन् १३ अप्रिल १९४७ (२००३-१२-३१) सम्म आफ्ना साथीहरुलाई मुक्त नगरे अधिराज्यभरि बन्द, हड्ताल गर्ने चेतावनी दियो । तद्नुरुप पार्टीले आफ्ना कार्यकर्ताहरुलाई देशका विभिन्न जिल्लामा खटायो । गणेशमानलाई भारतको दार्जीलिङ हुंँदै नेपालको पूर्वी पहाडी इलाम जिल्लाको आन्दोलनको नेतृत्व दिइयो, डी.के. शाही र अन्य उनका सहयोगी भए । रामहरि जोशीलाई मध्यतराईको सर्लाही जिल्लामा खटाइयो भने कृष्णप्रसाद भट्टराई पूर्वी तराईको वीरगन्ज जिल्लासँगैको सिमाना शहर रक्सौलतर्फ  गए ।

सन् १९४५ को अन्त्यतिर जुद्ध शमशेरपछि पद्मशमशेर प्रधानमन्त्री बने । हुत्तीहारा चरित्र र आडम्बरी स्वभावका उनले आपूmलाई ‘जनताको सेवक’ भनी घोषणा गरे । शायद महाभूकम्पको विनाशपछिको विपत्तिमा उनले जनतामाझ पु-याएको उत्कृष्ट सहयोग एवं राहतबारे सम्झना भएर त्यसलाई सबैमा जनकारी गराउने इच्छा जागेको थियो होला ।

वरिष्ठ कमान्डिङ जर्नेल भएकोले उनले त्यो चुनौतीपूर्ण कार्य सम्हालेका थिए । जिम्मेवारी निभाउने क्रममा उनले लुटपाट र मुनाफाखोरीलाई दृढताका साथ नियन्त्रण गर्नुको साथै राहत कार्य बडो प्रभावशाली तवरमा व्यवस्थित गरेका थिए । तथापि उनी अनुदार बान्धवहरुको घेराबन्दीमा परेको हुँदा यथास्थितिबाहिर गएर कुनै केही कुरामा परिवर्तन ल्याउन सकेनन् । राज्यशक्ति आपूmमा निहित राख्न हठी सेनापति मोहन शमशेर र अन्यसमेत जनभावनाको कदर गर्न अनिच्छुक रहे ।

सन् १३ अप्रिल १९४७ (२००३-१२-३१) आयो र गयो पनि, तर समातिएकाहरुलाई छोडिएन । नेपाली राष्ट्रिय कंग्रेसले गर्ने भनिएको राष्ट्रव्यापी हड्तालबारे सबैलाई थाहा भइसकेको थियो । साधारणतया मध्य अप्रिलताका नेपाली–पात्रोमा नयाँ वर्षको आरम्भ हुन्छ । नैराश्यपनको उम्लिँदो चापलाई आमहड्तालको अपेक्षाले धानिराखेको थियो ।

नेपाली नववर्षको १७ औं दिन सन् ३० अप्रिल १९४७ (२००४ वैशाख १७) मा जनआवेगको बाँध टुट्यो ।‘इन्किलाब जिन्दावाद’, ‘इन्किलाब जिन्दावाद’ भन्दै जनताले नारा घन्काए । परिवर्तन, नागरिक अधिकार र बन्दीहरुको रिहाइको नारा लगाउँदै जनता बिहानीको १० बजेतिर सडकमा उत्रे । उनीहरुले पूर्ण उत्साहका साथ सत्याग्रह शुरु गरे । काठमाडौं, पाटन र भक्तपुरका सडकहरुमा ‘इन्किलाब जिन्दावाद’ को नारा गुञ्जिरहेको थियो । त्यसमाथि पाटन र भक्तपुरका स्कुले छात्रहरु प्नि त्यस नारामा स्वरमा स्वर मिलाउन आए ।

काठमाडौंको संस्कृत पाठशालाका विद्यार्थी विभिन्न सहुलियत तथा पाठ्यक्रमको पुनरवलोकन तथा विस्तारको माग राखी हड्तालमा उत्रे । शान्त राजधानीले परिवर्तनको चाहनालाई जोशका साथ राख्यो । वास्तवमा अधिराज्यभरि नै उक्त नारा गुञ्जिरहेको थियो र राज्यका विभिन्न शहरहरुमा त्यस्तै परिदृष्टि (नजारा) दोहोरिरहेको थियो ।

शासकवर्गलाई तिलमिलाउने त्यो घटना त्यस बेला घटेको थियो, जब अमेरिकाको एक सद्भावमण्डल दुई देशबीच कूटनीतिक सम्बन्ध कायम गर्न काठमाडौंमा आएको थियो ।यस घटनाले पहिला राणा प्रधानमन्त्री पद्म शमशेर अकमक्क परे । न उनले, न त उनका भाइहरुले नै यस्तो तीव्र वा अचाक्लीपूर्ण विरोधको कल्पना गरेका थिए । महिलाहरुसमेतको उलेख्य सहभागिताले उनीहरुलाई थप अचम्मित तुल्याएको थियो । उनीहरुले सदैव भै त्यस विरोधको पनि दमन गरे । नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्ताहरुलाई विनाकुनै झन्झट समाते ।

त्यसबाहेक हुलका हुल मानिसलाई समात्दै, लहरीमा कोच्दै बन्दी बनाइयो । त्यस मनपरि धरपकडमा प्रहरीको निर्दयी दमनमा केही मानिस घाइते भए, जसले आगोमा घिउ थप्ने काम ग-यो । शहीद गंगालालका भाइ पुष्पलालले छाती खोलेर जर्नेल नर शमशेरलाई आपूmलाई पनि गोली ठोक् भनी लल्कारे । आफ्नै रेखदेखमा शहीदहरु मारेका जर्नेलले छातीमा मुक्का प्रहार गरी उनलाई ढाले र रिसको आवेग अन्य प्रदर्शनकारीमाथि खन्याउन थाले ।

बन्दी बनाइएकाहरुमा युवतीहरु सहाना प्रधान, साधना प्रधान, कनक लत्ता र पुष्प लत्ता पनि थिए । पाटनबाट ताम्राकार बन्धुहरु, प्रेमलाल र रामलाल बन्दी बनाइए भने भक्तपुरको गजसुन्दर प्रधानमाथि भएको प्रहारबाट उनी जिन्दगीभरिको लागि अर्धबहिरो बने ।जंगबहादुरले राणा शासन स्थापना गरेको सय वर्षपश्चात् जनताले टाउको उठाए, जसलाई दमन गर्न सकेनन् । सात वर्षपहिला दशरथ चन्दले जे भनेका थिए, त्यही भयो । उनी र उनका सहयात्रीको बलिदान व्यर्थ गएन । उनीहरुले रोपेको क्रान्तिको बीउ अङ्कुरित भएको थियो । पूरा १० दिन जोडतोडका साथ प्रदर्शन भएपछि अन्ततः पद्म शमशेरले केही राजनीतिक परिवर्तन गर्ने आफ्नो मनसुवा रहेको कुरा घोषणा गरे ।

सन् १९४७ मे १६ (२००४ वैशाख ३ गते बुधबार) मा पद्म शमशेरले संवैधानिक सुधार गर्ने घोषणा गरे । जस अनुसार चुनावबाट नगरपालिका र जिल्ला बोर्ड बनाई स्थानीय अधिकृतहरुमा अधिकार सुम्पने, स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने, राज्यको वार्षिक बजेट प्रकाशित गर्ने, शिक्षालाई विस्तार गर्ने र केटीहरुमा पनि शिक्षा दिलाउनेजस्ता सुधारका कुराहरु समावेश गरिएको थियो । अन्त्यमा, विदेशमा बसोवास गरिबसेका नेपालीहरुलाई रिझाउन उपहारस्वरुप उनीहरुको समस्या हेर्ने वाणिज्यदूतको कार्यालय स्थापना गर्नेसमेत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्