घरेलु सीपमूलक तालिम सञ्चालनमा



लमजुङ । 

राइनास नगरपालिका–३ नौबीसेमा विभिन्न विधाका सीपमूलक तालिम सञ्चालन भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सिलाइकटाइ, मुडा बनाउने र डलकुसन बनाउने तालिम सञ्चालन गरिएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा राइनास नगरपालिकाले अयोजना गरेको उक्त तालिमको आइतबार एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले उद्घाटन गर्नुभएको थियो ।बेरोजगार व्यक्ति तथा सीप सिकेर व्यवसाय गर्न चाहने व्यक्तिलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको प्रसाशकीय अधिकृत सुयलले बताउनुभयो । उहाँले तालिम अवधिभर नियमित उपस्थित भई प्राप्त अवसरको भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गर्नुभएको छ ।

दुई महिनासम्म सञ्चालन हुने सिलाइकटाइ तालिममा १२ जना र एक महिनासम्म सञ्चालन हुने मुडा बनाउने तालिममा ६ जनाको सहभागिता रहेको छ । यसै गरी, १५ दिनको डल कुसन बनाउने तालिममा १२ जना सहभागी छन् । तालिममा बढीमात्रामा महिलाको सहभागिता रहेको छ ।यसै गरी, नगरपालिकाको वडा नं. ४ र ७ मा कपडाको ब्याग बनाउने र हाउस वाइरिङ तालिम सञ्चालन गरिने भएको छ । राइनासमा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमअन्र्तगत उद्यमी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्ष मा सीपमूलक तालिमका लागि ८ लाख र प्रविधि हस्तान्तरणका लागि साढे ३ लाख बजेट विनियोजन भएको कार्यक्रम संयोजक राधिका पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्